रवि लामिछानेलाई पक्राउ गरेको आक्रोशमा प्रहरीलाई गाली गरेर फेसबुकमा लेख्ने पक्राउ

काठमाडौं, १ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थनमा अहिले देशभित्र र देशबाहिर व्यापक जनलहर देखा परेको छ । खासगरी सामाजिक सञ्जालमा सक्रिय रहेका धेरै युवाहरु उनको पक्षमा उर्लिएका छन् । देशभित्र उनलाई हिरासमा राखिएको चितवनमा सडकमै मानिसहरु उर्लेका छन् भने देशका अन्य विभिन्न जिल्ला र देश बाहिर रहेका लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा उनको पक्राउको ठूलो आक्रोश पोखिरहेका छन् ।

यही क्रममा प्रहरीले रविलाई पक्राउ गरेको विरोधमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरीलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अछामका एक युवा हुन । फेसबुकमा रिदम बिसी नाम प्रयोग गर्ने गरेका शंकर बिकलाई प्रहरीले अछामको सदरमुकाम मंगलसेनबाट पक्राउ गरेको हो । अछाममा पक्राउ गरेर उनलाई काठमाडौं ल्याउन लागिएको बताइएको छ ।

उनले फेसबुकमा काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई गाली गरेर लेखेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुले उनको फेसबुक ट्रयाक गरेर उनको ठेगाना पत्ता लगाएको बताइएको छ । सोही आधारमा उनको ठेगाना पत्ता लगाई काठमाडौं प्रहरीले अछाम प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शंकर बिक नाम गरेका व्यक्तिलाई काठमाडौं प्रहरी परिसरको पत्रका आधारमा मंगलसेनबाटै पक्राउ गरिएको जानकारी दिए । उनले बिकलाई पक्राउ गरी काठमाडौं पठाइएको पनि जानकारी दिए ।

फेसबुकमा आफूलाई गायक बताउने गरेका बिकले फेसबुकमा ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट…’ भन्दै काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीको फोटो राखेर फेसबुकमा स्टाटस लेखेका थिए । उनले लेखेको त्यही स्टाटस र फोटोलाई ५ सय बढीले शेयर गरेका थिए ।

प्रहरीले उनकाविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । पछिल्लाे समय सामाजिक सञ्जालमा तथानाम गाली गर्नेहरु बढेका छन् । सामाजिक सञ्जालमा गाली गरेर लेख्ने र कसैकाे व्यक्तिगत चरित्र हत्या गर्नेका विरुद्ध प्रहरीले साइबर क्राइमकाे मुद्दा लगाउने गरेकाे छ । यसअघि पनि फेसबुकमा गाली गरेका कारण धेरै मानिसहरु पक्राउ परेका छन् । कतिपय पत्रकारहरु पनि यस्ताे मुद्दामा पक्राउ परिसकेका छन् । 

पत्रकार रवि लामिछानेलाई प्रहरीले बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट उनका सहकर्मी युवराज कँडेलसहित पक्राउ गरेको थियो । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई पक्राउ गरी बिहीबार साँझ नै प्रहरीले चितवन लगेको थियो ।

उनीहरुलाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो । शुक्रबार नै रविलाई थुन्ने वा नथुन्ने भन्ने विषयमा बहस भएको थियो । रविसहित तीन जनाका पक्षमा नेपाल बार एशोसियसनका पूर्व महासचिव सुनिल पोखरेलसहित तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसैगरी उनको विपक्ष तथा मुद्दाको वादी पक्षबाट सरकारी वकिलले बहस गरेका थिए ।

सो बहसमा सरकारी वकिलले रविसहित तीनै जनालाई कम्तिमा १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट बहस सुनेपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले प्रहरीलाई अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरेको छ ।

Loading...