पद हस्तान्तरण नगर्ने प्रधानमन्त्रीको संकेत, संसदलाई सम्बोधन गर्दै भने-निवार्चनसम्म धैर्य गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै बिचार राख्नेप्रती उदारता देखाएको बताउदै त्यसलाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिएका छन् ।

आइतवार संघीय संसदलाई सम्बोधन गर्दै उनले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका हुन्। लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधीहरुले चलखेल गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि मैदानमा उत्रन तयार रहेको उनले स्पष्ट पारे ।

सरकारले जनताको पक्षमा धेरै काम गरेको भन्दै उनले कामको जानकारी समेत गराए । आफूले सरकारको नेतृत्व लिएपछि १४ सय किलोमिटर सडक र ३ सय वटा झोलुंगे पुल बनेको उनको जिकिर छ ।

मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको तर सरकार नभागेको भन्दै उनले उनले सरकारले मेलम्चीमा काम गरिरहेको दावी गरे ।

जनतामा निराशा पैदा गर्ने कुरा कसैले गर्नु नहुनेमा जोड दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले दिएको जिम्मेवारीबाट सरकार नभाग्ने भन्दै सरकारको निष्ठामा शंका नगर्न आग्रह गरे ।

आफूले पद हस्तान्तरण नगर्ने तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निवार्चनसम्म धैर्य गर्नुस् ।’

Loading...