गृहमन्त्रीले भेटे रवि लामिछाने

आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन कार्यक्रम प्रोस्तोता रवि लामिछानेलाई गृह मन्त्रीले भेटेका छन् तर उनी नेपाल सरकारका नभई छायाँ सरकारका गृह मन्त्री हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले रविसंग भेट गरेका छन् । रविलाई भेट्न उनी चितवन पुगेका हुन्।

शनिवार चितवन पुगेका छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्ला प्रहरी कार्यालय पुगी रविसंग भेट गरे । गृहमन्त्री बडूले रविलाई भेट्नु अघि सीडीओ र एसपी लाई समेत भेटे ।

उनले प्रहरी प्रशासनलाई निष्पक्ष छानविन गर्न आग्रह गरेका र रविलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको बताए । रविले पनि उनीसंगको भेटमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका बडुले बताए ।

चितवनमा रवि पक्षधर र पुडासैनी पक्षधर समूहले शनिवार प्रदर्शन गरेका थिए । रविका समर्थकहरु ठुलो संख्यामा चितवन पुगेर निर्दोष रविलाई फसाउन लागिएको भन्दै दैनिक नाराबाजी र दबाब सिर्जना गरिरहेका छन् ।

साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका -३ घर भै माउन्टेन टेलिभिजन काठमाडौंमा काम गर्ने २७ वर्षका शालिकराम पुडासैनीको शव फेला परेको थियो । पत्रकार पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियोमा आफू मर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेकोे उल्लेख छ । सोही भिडियो रेकर्डका आधारमा प्रहरीले रवि, युवराज र अस्मितालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।

पत्रकार रवि लामिछानेसहित अन्य दुई जना युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान गर्न प्रहरीलाई चितवन अदालतले शुक्रबार अनुसन्धानका लागि ५ दिनको समय दिएको छ ।

साउन ३० गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीलाई उद्घृत गर्दै चितवन पोस्टले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिनको समय माग गरेको भएपनि अदालतले ५ दिनको म्याद थप गरिदिएको हो ।

उनीहरु तीनैजनालाई प्रहरीले साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएको थियो । उनीहरु माथि आत्महत्या दुरूत्साहनअन्तर्गत अनुसन्धान थालिएको हो ।

Loading...