प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान थालेपछि प्रचण्डले सो कुरा बताएका हुन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौमा गरेको एक अन्तरक्रियामा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि भनेर आफूले धेरै चित्त नबुझेका कुरामा पनि निर्णय लिनुपर्ने बाध्यतामा परेको बताए ।

यसअघि लामो समय जनवर्गीय संगठनको प्रमुख, जिल्लाका इन्चार्ज, अध्यक्ष र सचिवको कार्यविभाजनमा पार्टीमा लामो विवाद चलेको थियो । त्यसैगरी अन्तिममा पार्टीका बरिष्ठ नेताहरुको कार्यविभाजनमा पनि ठूलो विवाद देखिएको थियो । खासगरी पार्टीको स्कूल विभागमा लामो छलफल चलेर शुक्रबार मात्र निर्णय लिइएको थियो । पार्टीको स्कूल विभागमा विगतका एमाले र माओवादी केन्द्रबाट आएका दुबै तर्फका नेताले दावी गर्दै आएका थिए । मुख्यतः नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच यो पदमा दावी रहे पनि विवाद बढ्दै जाँदा पछि पार्टीका अन्य थुप्रै अन्य नेताहरुले पनि दावी गरेका थिए । अन्तिममा आएर पार्टीको सचिवालयको बैठकले ईश्वर पोखरेललाई नै उक्त जिम्मेवारी दिएको थियो ।

शनिवारको कार्यक्रममा प्रचण्डले पार्टीको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताए । उनले कतिपय विषय चित्त नबुझे पनि पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताए । सो क्रममा उनले नेपालमा कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको दावी गर्दै यस्तो अवस्थामा पनि केही गर्न नसके इतिहासले धिक्कार्ने बताए।

प्रचण्डको भनाई कतै न कतै सरकारप्रति लक्षित थियो । कम्युनिस्ट पार्टीको नेतृत्वमा पूर्ण बहुमतको सरकार हुँदा पनि केही गर्न नसकेमा अब यस्तो अवसर नआउने उनको भनाई थियो । उनले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

सो क्रममा प्रचण्डले विश्वमै स्वास्थ्य क्षेत्र पुँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौती रहेको बताए ।

Loading...