प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण’ गरेर आएको बताउँदै डाक्टरले सबै अङ्ग ठीक रहेको र अब २०–२५ वर्ष केही नहुने बताएको जानकारी दिएका छन ।

तर, प्रमको स्वास्थ्यमा फेरि सुधार भएको भन्दै सिंगापुर जाने कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रम ओली नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् ।

प्रम ओलीले शुक्रबार बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । साथै शुक्रबार नै उनी पार्टीको सचिवालयका बैठकमा पनि सहभागी भएका थिए ।

बिहीबार प्रम ओलीको स्वास्थ्यमा केही खराबी आएको थियो । सुरुमा उनको मृगौलामा समस्या आएको भनिए पनि पछि उनलाई सामान्य ज्वरो मात्र आएको जानकारी दिइएको थियो । सोही कारण बिहीबार हुने भनिएको नेकपाको सचिवालयको बैठक पनि स्थगित भएको थियो ।

शुक्रबार भेटघाटका लागि आएका झापा जिल्लावासी अगुवा कार्यकर्तासँग पनि उनले आफ्नो स्वास्थ्यको बारेमा कुरा गरे । उनले उल्टै प्रश्न सोध, “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?”

प्रमको प्रश्न सुनेर प्रतिक्रियाविहीन रहेका ती कार्यकर्तालाई उनी आफैले आफू स्वास्थ्य रहेको बताए । उनले बाहिर प्रचार बढी भएको भन्दै त्यस्ता निराधार हल्लाका पछि नलाग्न आग्रह गरे ।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भने “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भने, “गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”

Loading...