२४ घण्टे अल्टिमेटम नबित्दै शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्तामा बोलायो

इसिडि, राहत शिक्षक र विद्यालय कर्मचारीको स्थायी प्रक्रियामा महांघको अडान

काठमाडौं, ३१ साउन ।  राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको छ ।

गत मंगलवार महासंघले शिक्षक कर्मचारीको माग पुरा गर्न भन्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । तर, बुधवार शिक्षा मन्त्रालयले वार्तामा बोलाएको हो । बुधवार र विहिवार शिक्षा मन्त्रालय र शिक्षक महासंघका प्रतिनिधिहरुबिच वार्ता भएको छ ।

वार्तामा इसिड, राहत, अस्थायी, साविक उमावि र द्वन्द्वपीडित शिक्षक र विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर्ने विषयमा छलफल भएको छ ।

महासंघको मागहरु पुरा गर्ने सन्दर्भमा कुनकुन ऐन, नीति, नियमावली र परिपत्रमार्फत सम्बोधन गर्ने हो त्यसको वर्गिकरण गर्ने सहमति भएको शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

अस्थायी प्रकृतिका शिक्षककर्मचारीहरुका स्थायीत्वका अलावा स्थायी शिक्षकहरुको सामुहिक बढुवा, श्रेणी र तह बढुवा, विशिष्ट श्रेणीको व्यवस्था, उमेरहद ६० बाट ६३ बनाउने विषयमा छलफल भएको र यस विषयमा शिक्षा मन्त्रालय सकारात्मक रहेको महासंघका अध्यक्ष थापाले जानकारी दिए ।

शिक्षा ऐनमा शिक्षकहरुको लाइसेन्स र तालीम दिन टिचिङ काउन्सिलको व्यवस्थ ागर्न समेत शिक्षा मन्त्रालय सकारात्मक देखिएको थापाले जानकारी दिए । ऐनमा ल्याउँदा ढिलाइ हुने भन्दै तत्काल इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब सुविधा बढाउन तत्काल नियमावलीमा व्यवस्था गर्नुपर्ने विषयमा वार्तामा छलफल भएको अध्यक्ष थापाले जानकारी दिए ।

अहिले मन्त्रालयसँग वार्तामा छौं तर, हाम्रा माग पुरा गर्न आनाकानी भए जुनसुकै समयमा वार्ताको टेबल छाडेर हामी सडकमा आउनेछौं । थापाले भने ।

वार्तामा परीक्षा छुटेका अस्थायी शिक्षकहरुलाई परीक्षाको मौका दिनुपर्ने, राहत, इसिडी, साविक उमावि शिक्षकहरु र विद्यालय कर्मचारीहरुलाई तत्काल दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लग्नुपर्ने मागमा महासंघको पहिलो अडान रहेको थापाले जानकारी दिए ।
यस्तै, एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीले २४ घण्टे अल्टिमेटम नसकिँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएकाले तत्काल आन्दोलन छाडेर महासंघ वार्तामा बसेको जानकारी दिए ।

इसिडी, राहत शिक्षक र विद्यालय कर्मचारीको स्थायीत्व, द्वन्द्वपीडित शिक्षकहरुको पुनर्वहालीलाई महासंले पहिलो मागको रुपमा अडान राखेको अधिकारीले जानकारी दिए ।

वार्तामा महासंघका तर्फबाट महासंघका अध्यक्ष थापासँगै, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक स.घका अध्यक्ष राजेन्द्रराज पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष लक्ष्मण शर्मा आदिको सहभागिता रहेको छ ।

यस्तै शिक्षा मन्त्रालयको तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेल, शिक्षासचिव खगराज बराल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्याल, मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीलगायतको सहभागिता रहेको छ ।

अर्को वार्ता आइतवार पुनः हुने युएण्टोका अध्यक्ष अधिकारीले जानकारी दिए ।

Loading...