निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान

बेझाड, ३१ साउन । वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ ।

परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले स्वास्थ्योपचारलाई मध्यनजर राख्दै चार जनाको परिवारलाई एक लाख बराबरको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको अध्यक्ष सन्तोष थापामगरले बताए ।

“गाहाका तीन वर्षीय छोराले गाउँपालिकाभित्र जुन शैक्षिक संस्थामा अध्ययन गरे पनि स्नातक तहसम्म शैक्षिक खर्च गाउँपालिकाले व्यहोर्नेछ”, उनले भने । गाहाको वैदेशिक रोजगारको क्रममा गत साउन १५ गते ३५ वर्षको उमेरमा निधन भएको थियो ।

उनको शव साउन २३ गते नेपाल ल्याएर दाहसंस्कार गरिएको आफन्त रेमन सिङ्जालीले बताए । लुलु कम्पनीमार्फत रोजगारीका लागि कतार पुगेको ४५ दिनमा मरुभूमिमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा माटोसहितको ढिस्कोले पुरिएर निधन भएको थियो ।

कालीगण्डकी फाउण्डेशनलाई एम्बुलेन्स सहयोग

कालीगण्डकी फाउण्डेशन नेपाललाई भारतीय राजदूतावासले एम्बुलेन्स प्रदान गरेको छ । भारतको ७३ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार पाल्पाको रामपुरमा स्थापना भएको फाउण्डेशनलाई बिरामीको स्वास्थ्य उपचारमा छिटो छरितो सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सहयोगस्वरुप प्राप्त भएको छ ।

कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले दूतावासबाट प्राप्त एम्बुलेन्सले रामपुर क्षेत्रका नागरिकलाई स्वास्थ्य सुविधा दिने बताए । “एम्बुलेन्समार्फत आकस्मिक बिरामीलाई सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ, भैरहवालगायतका स्थानमा ओसारपसार गर्न अब सजिलो पर्नेछ”, उनले भने । विशुद्ध सामाजिक सेवाको रुपमा यस संस्थाको हालै स्थापना भएको हो ।

Loading...