प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपछि अचानक सिंगापुर लगिदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । उनको उपचारमा सम्लग्न चिकित्सकले मृगौलाको क्रिटीनाइनको मात्रा बढ्दै गएको जानकारी दिएका छन् । क्रिटीनाइन मृगौलाको खराबी हेर्ने एक इन्डिकेटर हो ।

यसअघि प्रम ओली साउन १८ गते सिंगापुर गएर उपचार गरी ९ दिनपछि फर्केका थिए । उनको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई अचानक फेरि समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

उपचारमा संलग्नमध्येका डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुनः सिंगापुर जाने कार्यक्रम तय भएको जानकारी दिए । एक स्वस्थ मानिसमा ‘क्रिटिनाइन’को प्यारामिटर १ दशमलव ४ हुन्छ । त्यो दर प्रधानमन्त्रीको बढेर गएको डा. सायमीले बताएका छन ।

यसैबीच बरिष्ठ चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गोप्य नराख्न नीजि चिकित्सकहरुलाई आग्रहसमेत गरेका छन् । क्रिटिनाइनको मात्रा बढ्दै गएकाले चिकित्सकहरुले ओलीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मृर्गौला ड्यामेज हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । 

Loading...