प्रवासीको सहयोगमा एम्बुलेन्स

बागलुङ, ३० साउन । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ ।प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए ।

“लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिनुभएको छ”, उनले भने । लेखानी घर भएका गैर आवसीय नेपाली सङ्घ एनआरएनएका सदस्य थानेश्वर कँडेलको विशेष अगुवाइमा यसका लागि नेदरल्याण्डसमा सहयोग अभियान चलेको थियो । सङ्घमा आबद्धसहित अन्य सहयोगीबाट गरी झण्डै रु ३७ लाख सङ्कलन भएको जनाइएको छ । उक्त रकममध्ये रु २१ लाख शाखालाई प्राप्त भइसकेको उपसभापति आचार्यले बताए ।

“एम्बुलेन्स खरीदमा झण्डै रु ११ लाख खर्च भएको छ, बाँकी रकमबाट रक्तसञ्चार केन्द्रमा उपकरण खरीद र जडानको काम भइरहेको छ”, उनले भने । नेदरल्याण्डसबाट आउन बाँकी रकम पनि रक्तसञ्चार केन्द्रकै स्तर सुधारमा खर्च हुनेछ ।

नयाँ एम्बुलेन्स आएपछि तीन वर्षदेखि रोकिएको सेवा सञ्चालन हुने भएको छ । शाखामा भएका पुराना एम्बुलेन्स काम नलाग्ने भएपछि थन्किएका थिए । आउँदा दिनमा व्यवस्थित र प्रभावकारीरुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने शाखाले जनाएको छ ।

त्यस्तै अत्याधुनिक उपकरणको जडानले रक्तसञ्चार केन्द्रको सेवा पनि स्तरीय हुने छ । रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका नेपालीले एम्बुलेन्स किन्न गरेको सहयोग अतुलनीय रहेको उपसभापति आचार्यको भनाइ छ ।

Loading...