विश्वविद्यालयसहित सबै सार्वजनिक संस्थामा दलीय भागबन्डामा नियुक्तिको विरोधमा अब यस्तो आन्दोलन

काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीले विभिन्न विश्वविद्यालयको नियुक्तिमा पहिले जस्तै दलीय भागबन्डा भए जस्तो सुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै डाक्टर केसीले उक्त चेतावनी दिएका हुन् । लामो समयदेखि विश्वविद्यालय लगायत सार्वजनिक संस्थामा दलीय भागबन्डा नभई योग्यता, वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्ने र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्ने मागमा सरकारले धेरै पटक सम्झौता समेत गरेको उनले जनाएका छन् ।

हाल ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले मापदण्ड सम्बन्धि सुझाव समेत सरकारलाई दिइसकेको उल्लेख गर्दै डा.केसीले भनेका छन,‘हाल चलिरहेको दलीय भागबन्डाको मुसा–दौड रोकेर उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई यस अगाडि स्मरण गराएकोमा फेरि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

डा.केसीले सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिलाई कुनै पनि हालतमा विश्वविद्यालयमा नियुक्त नगर्न समेत सम्बद्ध निकायलाई ध्यानाकर्षण गराएका छन् । उनले चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएको विभिन्न बहाना देखाई केही मेडिकल कलेज, प्रतिष्ठानले एमबीबीएस भर्ना प्रक्रिया सुरु गरेकोमा आपत्ति समेत जनाएका छन् ।

हतार हतार जारी गरिएको भर्ना प्रक्रिया रद्द गरी ऐनमा समावेश भएको ७५ प्रतिशत छात्रवृत्ति, साझा प्रवेश परीक्षा लगायतका बुँदा कार्यान्वयन गरी मात्रै भर्ना प्रक्रिया सुचारू गर्न समेत डा.केसीले माग गरेका छन् ।

यस्तै डा.केसीले आफूहरुसँग भएको सम्झौता अनुसार इलाम र पाँचथर, उदयपुर, डोटी र डडेल्धुरा लगायत प्रदेश नम्बर २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउने माग गरेका छन् ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिट्टै एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । कान्तिपुरबाट

Loading...