क्रिकेटका सबैभन्दा महान खेलाडी सर डन ब्राडम्यानले बनाएका ७ रोचक तथ्य

अष्ट्रेलियाका डन ब्राडम्यानले अन्तिमपटक क्रिकेट खेलेको ७१ बर्ष भैसकेको छ भने संसारबाट बिदा भएको पनि १९ बर्ष भैसकेको छ। तर पनि उनको चमत्कारिक प्रदर्शनले हालसम्म क्रिकेट प्रेमीहरुले उनलाई भुल्न सकेका छैनन्। क्रिकेट प्रेमीहरुको नयाँ पुस्ता जसले उनलाई देखेनन् उनीहरुसमेत क्रिकेटको कुरा गर्दा डनकै चर्चाबाट सुरुवात गर्छन्।

सन् १९०८ अगस्ट २७ मा अष्ट्रेलियामा जन्मिएका  ब्राडम्यानले २० बर्षको उमेरमा सन् १९२८ मा इंग्ल्याण्डसँग ब्रिसबेनमा खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। पहिलो पारीमा टिम १२२ रनमा समेटिदा १८ रन बनाएका उनले दोश्रो पारीमा मात्र १ रन बनाएपछि घरेलु टिम ६६ रनमा समेटिन पुगेको थियो। पाहुना टिम इंग्ल्याण्डले ६७५ रनको फराकिलो जित निकाल्न पुग्यो।

घरेलु क्रिकेटमा न्यु साउथ वेल्सको लागि राम्रो प्रदर्शन गर्दै टेस्ट टिममा स्थान बनाएका ब्राडम्यानले पहिलो टेस्टमा खराब प्रदर्शन गरेपछि दोश्रो टेस्टमा बेन्चमा बस्नु पर्यो। तर टिमका साथी खेलाडी घाइते भएपछी मेलबर्नमा भएको तेस्रो टेस्टमा पुनः मौका पाए। विश्वले पहिलोपल्ट ब्राडम्यानलेको कौशल देख्यो। उनले पहिलो पारीमा ७९ रन बनाए भने दोश्रो पारीमा करियरको पहिलो शतक बनाए।  २० बर्षको उमेरमा नै ११२ रनको पारि खेलेका उनले सबैभन्दा कम उमेरमा शतक बनाउने तात्कालिक रेकर्ड बनाएका थिए। त्यसपछि उनले थप ५१ वटा टेस्ट खेल्दै त्यो ११२ रनको पारि मात्र युगको सुरुवात भएको देखाए।

उनको टेस्ट क्रिकेटमा आफ्नो अन्तिम खेल खेल्नु अघि औशत १०० भन्दा माथि रहेको थियो तर तेस्रो स्थानमा ब्याटिंग गर्ने उनि सन् १९४८ अगस्ट १४ मा इंग्ल्याण्ड बिरुद्द दोश्रो बलमा खाता नखोली आउट भएपछी औशत १०० भन्दा कम हुन पुग्यो। करियरमा कुल ५२ टेस्टको ८० इनिंगमा ब्याटिंग गरेका ब्राडम्यानले ६ हजार ९ सय ९६ रन प्रहार गरे जुन क्रममा २९ शतक र १३ अर्धशतक बनाए।

आफ्नो करियरमा अन्तिम पल्ट ब्याटिंग गरेको आजको दिन उनि बारे केहि रोचक तथ्यहरुलाई तयार पारेका छौं :

१. उनको नाममा रहेको ९९.९४ को टेस्ट औशत सायदै तोडिएला। उनि पछि दोश्रो सर्वाधिक धेरै औशत अष्ट्रेलियाका पुर्व कप्तान स्टिव स्मिथको रहेको छ जसले अहिले इंग्ल्याण्डमा जारि एसेज सिरिजको पहिलो टेस्टको दुवै पारीमा शतक प्रहार गरेका छन्। स्मिथलाई ब्राडम्यान पछिको उत्कृस्ट ब्याट्सम्यान पनि भन्न थालिएको छ। स्मिथको ६५ टेस्ट पछी ६२.९६ को औसत रहेको छ।

२. सन् १९४८ को इंग्ल्याण्ड भ्रमणको क्रममा अष्ट्रेलियाले ३१ प्रथम श्रेणी खेल खेलेको थियो। ब्राडम्यानको कप्तानीमा रहेको अष्ट्रेलिया उक्त भ्रमणमा अपराजित रहेको थियो जसपछि “टिम इन्भिन्सिबल” अर्थात पराजित गर्न धेरै गाह्रो (अपराजित) को नामले परिचित हुन पुगेको थियो।

३. टेस्ट क्रिकेटको ब्याटिंग रेटिंगमा हालसम्मकै सर्वाधिक ९६१ अङ्क ब्राडम्यानकै नाममा रहेको छ जुन तोड्न असम्भव जस्तो छ।

४. उनको नाममा रहेको अर्को अचम्मको रेकर्ड हो एकै सेसनमा सबैभन्दा धेरै शतक। उनले ६ वटा शतक एकै सेसनमा प्रहार गरेका थिए। एउटा शतक पहिलो सेसन, दुईवटा दोश्रो सेसन र तिनवटा तेस्रो सेसन प्रहार गरेका थिए।

५. ब्राडम्यानले २९ शतक बनाउनुका साथै १२ दोहोरो शतक पनि बनाएका थिए। १२ शतकको रेकर्ड हालसम्म टेस्ट क्रिकेटमा कसैले तोड्न सकेका छैनन्। दोश्रो स्थानमा श्रीलंकाका कुमार सांगाकारा रहेका छन् जसले ११ दोहोरो शतक बनाएका थिए।

६. ५२ खेलको छोटो करियरमा हरेक १००० रन सबैभन्दा छिटो बनाउने ब्राडम्याननै थिए। उनको यो रेकर्ड अहिलेसम्म पनि कसैले तोडेका छैनन्। उनले १००० रन मात्र ७ टेस्ट, २००० रन मात्र १५ टेस्ट, ३००० रन मात्र २३ टेस्ट, ४००० रन मात्र ३१ टेस्ट, ५००० रन मात्र ३६ टेस्ट र ६००० रन मात्र ४५ टेस्टमा पुरा गरेका थिए।

७. अष्ट्रेलियाको रेडियो तथा टेलिभिजन ब्रोडकाष्टिङ कम्पनि एबिसीले आफ्नो पोस्ट बक्स नम्बर ९९९४ राखेको छ जसमा उनको टेस्ट औसत ९९.९४ जनाएको छ।

उनको बारेमा रहेको एउटा रोमान्चक पक्ष भनेको आफ्नो अन्तिम पारीमा ब्याटिंग गर्न जाने क्रममा समर्थकले दिएको मायाले भावुक हुन पुग्दा उनले राम्रो ब्याटिंगनै गर्न सकेका थिएनन्।

Loading...