प्यारो पीडित ! हाम्रो अभीष्टलाई धनान्दका पर्खालहरूले कहिल्यै छेक्न सक्तैनन्

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हाल ललितपुरकाे नख्खुस्थित केन्द्रीय कारागारमा छन् ।  दस वर्षे भीषण जीवन मरणकाे क्रान्तिमा सँगै लडेका केही नेताहरु सरकारमा छन र उनीहरुकै आदेशमा नेता ओली जेलमा हालिएका हुन् । यही परिदृष्यलाइ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, फिल्म निर्देशक तथा साहित्यकार केएल पीडितले नेता सुदर्शनका नाममा एउटा कवितात्मक चिठी लेखेका थिए । केेही समय अघि ननस्टपखबर डटकममा प्रकाशित कवि, गीतकार तथा चलचित्र निर्देशक केएल पीडितको ‘प्रिय कमरेड ! तिमी थुनिएको शहरमा छु’ शीर्षकको कवितात्मक पत्र पाएपछि लेखकीय क्षेत्रमा समेत राम्राे क्षमता भएका नेता सुदर्शनले त्यसकाे जवाफ कवितामै लेखेका छन् । प्रस्तुत छ उनले जेलमै केएल पीडितलाइ सम्वाेधन गर्दै लेखेकाे कवितात्मक जवाफ–

प्यारो केएल पीडित
भावनाको भेललाई
विचारमा रूपान्तर गर
म थुनिएकोमा चिन्ता नगर
तिम्रो साथी किन थुनियो ?
चिन्तन–मनन गर
चुपचाप रहेर नबस
तिम्रा कमरेडहरूको चलखेल र जालझेललाई
तिम्रो तीखो र साहित्यिक कलमले
धुजाधुजा पार

प्यारो केएल पीडित
म तिम्रो भावनाको सम्मान गर्छु

भावनाबाटै विचारको उत्पत्ति हुन्छ ।
विचारबाटै भावना आउँछ
विचार प्रधान बनाएर
भावनाको सागरमा पौडिनुपर्दछ
अनि मात्र डुङ्गा पार लाग्दछ
एउटा झुट्टा मुद्दामा थुनिएको साथीप्रति
आफ्नै अघिल्तिरबाट घिसारिएको साथीप्रति
आफ्नो न्यानो माया दियौ
आफ्नो न्यानो हात दियौ
र, आफ्नो पथबाट विचलित भयौ
तिमी गलत पथबाट विचलित भयौ
अर्को शब्दमा विद्रोह भन्दछन् यसलाई
साधुवाद छ प्यारो पीडित
धन्यवाद छ तिमीलाई

आऊ पीडित
हामी हाम्रो सपनाका लागि
हातमा हात मिलाऔँ
काँधमा काँध मिलाऔँ
तिमी र म सुरु गरौँ क्रान्ति
महान साम्यवाद
सुदूर भविष्य होइन साम्यवाद
तिमी साम्यवाद हौ भने
तिमी र मबाटै सुरु हुन्छ साम्यवाद

प्यारो पीडित
तिम्रा कमाण्डरहरू कुहेका फर्सी हुन्
ती क्रान्तिका लागि कम्पोस्ट मल हुन्
ती क्रान्तिकारीहरूका लागि नकारात्मक शिक्षा हुन्
त्यहाँबाट विचलित हुनु जरुरी छ ।
साम्यवादप्रति आबद्ध हुनु जरुरी छ ।
म थुनिएको शहरमा
तिमी ठूलो पर्खालभित्र छौ
मचाहिँ सानो पर्खालभित्र छु
हामी एक दिन भेट हुनेछौँ
हाम्रो अभीष्ट मिलनलाई
धनान्दका पर्खालहरूले
कहिल्यै छेक्न सक्तैनन्
हाम्रो अवश्य भेट हुनेछ
तिमी पर्खालबाहिर चिन्तन गर
तिमी जनतासँग जाऊ
म पनि जनसँगै छु
हामी छिट्टै भेट हुनेछौँ ।

२०७६ जेठ २८ गते, नख्खु कारागार

साहित्यकार एवं चलचित्रकर्मी केएल पीडितले ननस्टपखबरमा लेखेकाे कविता यस्ताे थियाे–

प्रिय कमरेड ! तिमी थुनिएको शहरमा छु

केएल पीडित

प्रिय कमरेड !
प्रिय सुदर्शन !!
तिमी थुनिएको शहरमा छु
तिमी डामिएको शहरमा छु
र, चुपचाप चुपचाप
हेरिरहेछु अनेक खेल र चलखेलहरु !!
हेरिरहेछु अनेक ताल र जालझेलहरु
……..

थुनेर तिमीलाई फलामे खोरमा
मेरा नायकहरु र मेरा कमरेडहरु
सिसमहलमा दीपावली गरिरहेछन्
चियर्स गरिरहेछन् !
र, छादिरहेछन् सहिदका तस्वीरहरुमा
हुलुलु, हुलुलु !!

जुन दिन मेरै अघिल्तिरबाट
घिसार्दै घिसार्दै तिमीलाई
नख्खु पुराए मेरा कमाण्डरहरुले
प्रिय कमरेड !
प्रिय सुदर्शन !
सुल परेको थियो मेरो मुटुमा त्यस दिन
विचलित छु म त्यस दिनदेखि !!
अचेत छु म त्यस दिनदेखि !!

सम्झेर अहिले तिमीलाई
रुँदै र धिक्कार्दै आफूलाई
बागमतीमा सेलाइरहेछु
तिमीले दिएका प्रिय सपनाहरू
ए अथक योद्धा !
ए प्यारो कमरेड !!
ए सुदर्शन !!!
मलाई माफ गर है !!
म विचलित छु !!
म अचेत छु !!

थुक्क म !
मर्न नसकेको म !!

Loading...