अब शिक्षक र विद्यालय कर्मचारीका सबै समस्या समाधान हुन्छन्

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दै गरेको समाजवादी राष्ट्रिय शिक्षा नीतिले उत्पीडित शिक्षककर्मचारीका सबै माग सम्बोधन गर्ने बताएका छन् ।

अब कस्तो शिक्षा नीति हुने ? समाजवादी शिक्षा नीति भनेको के हो ? भएको शिक्षा नीतिमा कहाँ सुधार गर्ने भन्ने सबै कुरा समाजवादी राष्ट्रिय शिक्षा नीतिले टुङ्ग्याउने प्रचण्डले स्पष्ट पारे ।

शनिवार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको उपत्यकास्तरीय जिल्ला परिषद् एवं सम्मान कार्यक्रममा बोल्दै उनले द्वन्द्वपीडित शिक्षकहरुको समस्या चाँडै समाधान गरिने स्पष्ट पारे ।

युगलाई परिणाममुखी बनाउन जनताको नजिक एवं जनतासँग जोडिएको ठूलो फैजको रुपमा शिक्षकहरु रहेका भन्दै प्रचण्डले उत्पीडित शिक्षक कर्मचारीका मागहरु पुरा गर्ने गरी राष्ट्रिय शिक्षा नीति ल्याउने प्रक्रिया शुरु भइसकेको बताए ।

आर्थिक, सामाजिक रुपान्तरणमा शिक्षकको भुमिका किटान गरेर अगाडि बढिने स्पष्ट पार्दै प्रचण्डले गाउँ गाउँमा कम्युनिष्टलाई लोकप्रिय बनाउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेकोसमेत ठोकुवा गरे ।

पूर्व एमाले  र माओवादी एकतापछि शिक्षक संगठन एकताको सैद्धान्तिक सहमति भइसकेको समेत प्रचण्डले खुलासा गरे ।

अहिलेका प्राय नेताहरु शिक्षण क्षेत्रबाट आएका उल्लेख गर्दै उनले शिक्षक वर्ग राजनीतिक नेता उत्पादन गर्ने थलो भएको बताए । रुपान्तरणमा अग्रगामी, दुरगामी  र महत्वपूर्ण भुमिका शिक्षकहरुको रहेकामा उनको जोड थियो । राजनीतिक र सामाजिक चेतना फैलाउन शिक्षकको भुमिका महत्वपूर्ण भुमिका रहेको उनको भनाइ थियो । 

Loading...