शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने, पहिलो पटक ओएमआर मेशिन प्रयोग गर्दै आयोग

भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक लाइसेन्सको उत्तरपुस्तिकाबाट हुने बताइएको छ ।

अब लाईसेन्सको परीक्षाबाट आयोगले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोगमा ल्याउन लागेको हो । यो मेशिन प्रयोग गरेपछि धेरै मानवीय त्रुटी सच्चिने आयोगले आशा गरेको छ ।

शिक्षक सेवा आयोगले लिने परीक्षाका बारेमा बेला बेला धेरै गुनासा, आलोचना वा टिप्पणी हुने गरेका छन् । त्यस्ता आलोचना, टिप्पणी र सुझावलाई मध्यनजर गरी अबदेखि परिक्षणमा हुने त्रुटी हटाउन आयोगले यो नयाँ मेशिन प्रयोग गरिएको जनाएको छ । यसले परीक्षालाई चुस्त र उत्तरपुस्तिकाको परीक्षणमा हुने त्रुटी कम गर्ने आयोगले जनाएको छ । त्यसैगरी मेशिन प्रयोग गरिएपछि उत्तरपुस्तिका परिक्षण पनि छिटो सम्पन्न हुनेछ । आयोगका प्रशासकीय अधिकृत डा. तुलसी थपलिया यसले समय बचत गरी छिटो नतिजा निकाल्न सहयोग पुग्ने बताउँछन् ।

अहिले आयोगले अहिलेका लागि एमविविएस परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्नका लागि ल्याएको मेसिन प्रयोग गर्न थालेको छ । शिक्षा मन्त्रालयले ल्याएको उक्त मेशिन अहिले खाली रहेकोले आयोगले त्यही मेसिनको प्रयोग गर्ने निर्णय गरेको हो ।

अबदेखि वस्तुगत खण्डको उत्तरपुस्तिका मेशिनबाट हुनेभएपछि अहिले आयोग त्यसका लागि आवश्यक पर्ने प्रश्नपत्र तयारीमा लागेको छ । प्रशासकीय अधिकृत थपलियाले त्यो काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । सुरुमा प्रयोग गर्न लागिएकाले यो मेशिन र मेशिनका लागि प्रयोग गरिने उत्तरपुस्तिकाका बारेमा परीक्षार्थीलाई पनि जानकारी दिने आयोगले तयारी गरेको छ ।

आयोगका प्रशासकीय अधिकृत थपलिया मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउन नहुने बताउँछन् । उनका अनुसार त्यसी मोडिएको वा कुच्याएको पानालाई मेशिनले पढ्न सक्दैन । त्यसो हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको ‘की’ वा सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनु पर्ने हुन्छ । यस्तै उत्तर दिँदा पनि कुनै एक उत्तरमा उसैगरी मसी भर्नुपर्ने हुन्छ । अब वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २० प्रतिशत अँक कट्टा गरिने पनि आयोगले जनाएको छ ।

थपलिया भन्छन, ‘आयोगलाइ पनि समय सापेक्ष रुपमा प्रविधि मैत्री बनाउने यो हाम्रो प्रयास हो । यसबाट परीक्षणको समय बचत हुने मात्रै हैन, परीक्षणमा हुने त्रुटि पनि घट्छ, विद्यार्थीलाई पनि न्याय हुन्छ । यसअघि नेपालमा लोकसेवा आयोग र एमविविएसको परीक्षाहरुमा पनि यही मेशिन प्रयोग हुँदै आएको छ ।

लाईसेन्सको परीक्षा असोज ९ गते देखि ११ गते सम्म गर्ने गरी आयोगले मिति तय गरेको छ । प्राथमिकको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा विहान ८ बजेबाट शुरु गर्ने गरी आयोगले मिति तय गरेको छ ।

गत असार २ गते परीक्षा मिति विना लाईसेन्सको विज्ञापन खोलिएको थियो । विज्ञापनको ५३ औं दिनमा बिहीबार बल्ल आयोगले परीक्षा मिति तय गरे पनि परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्र भने अझै तय गरेको छैन । भदौ १५ गते मात्रै केन्द्र सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

तिन घण्टाको उक्त परीक्षा अवधिमा वस्तुगतको लागि ४० मिनेट निर्धारण गरिएको छ । उक्त समय अघिनै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न उपलब्ध गराउने आयोगले जनाएको छ । विषयगत तर्फ शिक्षण कला सम्बन्धि खण्ड क र सामान्य पेशागत ज्ञान सम्बन्धि प्रश्न खण्ड ख मा आउने र यी दुई खण्डको उत्तर अलग अलग उत्तर पुस्तिकामा लेख्नु पर्ने आयोगले जनाएको छ ।

आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको शिक्षक लाइसेन्सका लागि विज्ञापन गरेको थियो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

Loading...