घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक

बनेपा, २४ साउन । राष्ट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ ।वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो ।

“घरेलु हिंसाको पीडामा परेका र अन्य विविध कारणले जोखिम वर्गमा परेकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेका हौँ”, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले भने, “नयाँ संविधानमा जारी भएको कानूनी व्यवस्थाको जानकारी, हिंसा भइहाल्यो भने कानूनमा के–के व्यवस्था, हिंसा नै हुन नदिन के गर्न सक्छौँ र घरेलु हिंसा भइहाल्यो भने उजुरी गर्ने निकाय कहाँ हो भन्नेलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

यदि कसैलाई त्यस्तो केही समस्या भएमा कानूनी परामर्श र सामाजिक मनोविमर्शकर्ताबाट आवश्यक सहयोग प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गरेको उनले बताए ।मनोसामाजिक विमर्शकर्ता तथा सिर्जनशील संस्था नेपालका अध्यक्षसमेत रहनुभएका प्रतिमा शर्माले घरेलु हिंसामा परेका व्यक्तिमा बढीजस्तो विवाहित महिला पाइएको बताए।

“अध्ययनका क्रममा र हामीले ‘काउन्सिलिङ’ गर्ने क्रममा पनि धेरैजसो आपसमा बुझ्न नसक्दा श्रीमान्बाट पीडित बनेका, घरपरिवारबाट र समाजबाट पीडित बनेका महिला पाइएको छ”, उनले भने, “त्यस्ता महिलालाई हामीले ऊर्जा प्रदान गर्ने र आवश्यक परामर्श दिने हो ।” त्यससँगै उनले विदेशमा जाने मानसिक पीडामा परेका युवाका लागि इन्टरनेटबाट मनोशिक्षा परामर्श दिने गरेकोसमेत बताए ।

Loading...