पत्रकारसँग मन्त्री भट्टराईका रोचक–घोचक ठट्टा, ‘मैले क्याम्प चेन्ज गरे तपाईलाई घाटा त भएन नि !

बुटवल, २३ साउन । योगेश भट्टराई नेपाली राजनीतिमा संघर्षशील र स्पष्ट विचार राख्ने युवा नेताका रुपमा चिनिन्छन् । पार्टीमा लामो समय प्रचार विभागमा काम गरेकाले उनी मिडिया मैत्री छन् । उनको मिडिया मैत्री शैली बेलाबेलामा मिडियामा देखा पर्छ । त्यही मिडियामैत्री स्वभावका कारण उनी कहिलेकाही औपचारिक कार्यक्रममा पनि मिडियाकर्मीसामु अनौपचारिक शैलीमा प्रस्तुत हुन्छन् । यस्तै शैलीमा बिहीबार बुटवलमा उनी देखा परे ।

लुम्बिनी विकास कोषको एक विशेष बैठकका लागि रुपन्देही पुगेका भट्टराईले बिहीबार बुटवलमा पत्रकार भेटघाटमा थिए । पत्रकारहरुले उनीसँग जति प्रश्न गरे पनि उनी प्राय प्रश्न ठट्यौली शैलीमै उत्तर दिइरहे ।

पत्रकार सम्मेलनमा एकजना पत्रकारले मन्त्री भट्टराईलाई सोधे “तपाइँले त पार्टीको गुट फेरेर मन्त्री बन्नुभयो भन्ने चर्चा छ नि ?”

मन्त्री भट्टराईले त्यो प्रश्नको उत्तर होइन, ठट्यौली पारामा उल्टै प्रश्न तेस्र्याइदिए । उनले भने, ‘मैले गुट फेरेर तपाइँलाई केही घाटा भयो ? कुनै नाेक्सानी त भएकाे छैन नि ?’

सोही पत्रकार सम्मेलनमै एक अर्को प्रश्न सोधियो, “मन्त्रीज्यू, लुम्बिनी विकास कोषमा सदस्य सचिव पद खाली छ, अदालतमा मुद्दा छ, सदस्य सचिव कहिले पाउँछ विकास कोषले ?”

त्यो प्रश्नको जवाफ पनि उस्तै थियो मन्त्री भट्टराईको । उनले भने, “ए त्यो सदस्य सचिव त सामान्य कुरा हो, आइहाल्छ नि, सदस्य सचिव आउनु नआउनुले पत्रकारलाई के फरक पार्छ र ?

पत्रकारले त्यो जवाफमा प्रतिप्रश्न गरेहाले । पत्रकारले आफ्नो प्रश्न थप प्रष्ट्याए– “लुम्बिनीका विकासका धेरै काम सदस्य सचिव नहुँदा रोकिएका छन् नि ।”

मन्त्री भट्टराई पनि के कम । उनी अझै औपचारिक भए र प्रश्नको खास भावतिर गएनन । उनले भने, “हामी प्रक्रिया पूरा गरेर सदस्य सचिव नियुक्त गर्छौ।’

मन्त्री भट्टराई ठट्यौली पारामा बातचित गर्न चाहिरहे पनि पत्रकारको प्रश्न भने रोकिएन । कुनै समाचार बन्ने भर्सन त आउला कि भनेर अपेक्षा गरिरहेका अर्का एक पत्रकारले उनलाई बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थलबारे प्रश्न गरेँ । तर, अहाँ मन्त्री भट्टराई फर्किएनन औपचारिकतातिर । उनले भने– “हामीले २०१९ भित्रै त्यसको शिलन्यास गर्छौं । त्यो पनि केही सय जम्मा भएर हैन, १० लाख जना जम्मा भएर। निजगढको जंगलभरि लाखौं मान्छे भरेर शिलान्यास गर्छौं ।’’

सायद यो प्रश्नको उत्तर दिँदा दिमागमा आएको जवाफले उनी उत्साहित पनि भए । उत्साहित हुँदै मन्त्री भट्टराईले प्रधानमन्त्री केपी ओलीको शैलीमा गफ दिए, “विकास भनेको उत्सव हुनुपर्छ । यो मेरो मात्रै ठेक्का पनि हैन । तपाइँको मात्रै ठेक्का पनि हैन । त्यसैले यसलाई उत्सवको रुपमा मनाउनुपर्छ ।”

प्रश्न सोध्ने पत्रकारतिर हेरेर उनले अझै पो थपे, “बुटवलबाट पनि २–४ बसमा तपाइँहरु आउनुपर्छ । अनि सबै गएर भव्य शिलान्यास गर्ने हो ।”

यस्तो जवाफ सामान्यतयाः कसैले पनि अपेक्षा गर्दैनन । प्रश्न सामना गर्नेहरुले पनि यस्तो जवाफ दिने आँट गर्दैनन । तर, पार्टीमा पत्रकारकै इन्चार्ज भएर काम गरेकाले सायद उनी पत्रकारहरुसँग यसरी नै प्रस्तुत भए । मन्त्री भट्टराईले यस्तो कुरा गरिरहँदा कुनै पनि पत्रकारले ‘कस्तो प्रश्नको भाव नबुझ्ने मन्त्री’ भनेर कसैले भनेनन । किनकि योगेश भट्टराई कस्ता कुरा गर्छन, कस्तो मत राख्छन भन्ने प्राय सबै पत्रकारले चिनेजानेकै छन् । सायद अरु कुनै नेता वा मन्त्रीले त्यसरी प्रतिप्रश्न र ठट्टा गरेको भए पत्रकारहरु कि त्यतिबेलै प्रतिवाद गरिहाल्थे कि त उनको सत्तोसराप हुन सक्थ्यो । तर, भट्टराईका लागि त्यो भएन ।

केही प्रश्नमा भने उनी सरकारको बचाउ गर्नतिर लागे । सरकारले केही गरेन भन्ने चर्चा हुने गरे पनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको बताए । गलत दिशामा लागेकाे गाडी जति गतिमा कुदे पनि भनेको ठाउँमा नपुग्ने बताए ।

लगत्तै उनले विदेशमा बसेर सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेहरुतर्फ लक्षित गर्दै भने, “विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्नुस । हामी ५० लाख पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्ष मनाउँदैछौ । उनले भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याइ छाड्ने पनि दावी गरे ।

विदेशमा बस्ने प्रवासी नेपालीलाई पनि प्रश्न गरे, ‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ? त्यसको सट्टामा बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् ।”

सरकारको बचाउ गर्दै यो प्रश्नको जवाफ दिँइरहँदा सायद उनको मनमा अर्को आइडिया आयो । उनले प्रवासी नेपालीलाई एउटा अफर नै गरे । उनले भने, “यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’

उनले त्यो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्न के के शर्त राखेका थिए भन्ने संकेत पनि गर्न खोजे । उनले भने, मलाई प्रधानमन्त्रीले पर्यटनमन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।” साथै उनले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए ।

त्यसपछि उनले हल्का गफ दिने पारामा भने, ‘अचेल म हरेक रात डिसेम्बर ३० को सपना देख्छु ।’ र थपे, ‘कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरिरहेका छन् तर मैले त्यो मानेको छैन । कुनै पनि हालतमा डिसेम्बरमा विमानस्थल सञ्चालनमा आउँछ ।’

Loading...