निगमले गर्यो जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

काठमाडौँ, २१ साउन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि कम्पनी छनोट गरिएको उल्लेख गरेको छ । कम्पनीले नेपाल–जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताका आधारमा पिएसए नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त कम्पनी जापानको ख्यातिप्राप्त ट्राभल एजेन्ट्स एचआइएस समूहबाट सम्बन्धन प्राप्त समूह भएको र यस समूहसँगको सहकार्ययुक्त एजेन्सीले नेपाल–जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने निगमको अपेक्षा छ । निगमले आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको छ । सन् २००८ देखि निगमको जापान उडान बन्द भएको थियो ।

Loading...