मुख्यमन्त्रीसहित थुप्रै नेताहरु नजबन्दमा, काश्मिरमा एकाएक बढ्यो तनाव

एजेन्सी । भारत प्रशासित कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित थुप्रै बरिष्ठ नेताहरुलाई सोमबार विहानै देखि नजरबन्दमा राखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो ।

नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री अमर उब्दुल्ला तथा महबूबा मुफ्तीलवाई आफ्नो घरबाट बाहिर निस्कने अनुमति दिएको छैन । महबूबा मुफ्ती र अमर अब्दुल्लाले राति अबेर ट्वीट गरेर आफूहरुलाई नजबन्द गरिएको जनाएका थिए ।

यसका साथै कश्मीरमा मोबाइल र इन्टरनेट पनि अस्थायी रुपमा बन्द गरिएको छ । अधिकारीहरुका अनुसार प्रहरी अधिकारी र जिल्ला अधिकारीलाई स्याटालाइट फोन उपलव्ध गराइएको छ ।

यसका अलावा श्रीनगरमा सोमबार राति देखि संविधानको धारा १४४ लागू गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसबीचमा कुनै पनि र्याली र सार्वजनिक सभाको अनुमति हुने छैन भने विद्यालय पनि बन्द रहने छन् ।

यस्ताे छ कारण

भारत नियन्त्रित कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको हिन्दू धर्मावलम्बीहरुको धार्मिक क्षेत्र अमरनाथ यात्राको समय अहिले हो ।

उक्त तीर्थ यात्राका क्रममा लाखौं मानिस अमरनाथ पुग्ने गरेका छन् । ४५ दिन लामो तिर्थ यात्रामा निस्किएका हिन्दू तीर्थयात्रीमाथि आतंककारी आक्रमणको खतरा रहेको सूचना भारतीय अधिकारीहरुले जारी गरेसँगै हजारौं संख्यामा तीर्थयात्रीले कश्मीर छाडेका छन् ।

पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरुले वर्षको एकपटक मात्र जानसकिने अमरनाथतिर गइरहेका तीर्थयात्रीलाई आक्रमण गर्ने योजना बनाएको दाबी भारतीय अधिकारीहरुले गरेसँगै काश्मीरमा तनावको स्थिति सिर्जना भएको हो ।

भारत प्रशासित कश्मीरमा तनाव जारी भएपछि पाकिस्तान सरकार चिन्तित देखिएको छ । त्यसक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए । बैठक पछि प्रधानमन्त्री खानले भारतको आक्रामक रवैयाले उक्त क्षेत्रमा संकट उत्पन्न हुनसक्ने बताएका थिए ।

उनले भने ‘कश्मीरको शान्तिपूर्ण र न्यायपूर्ण समाधान नै दक्षिण एशियामा शान्ति र सुरक्षाको बाटो हो ।’ 

Loading...