उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा‍. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरेको छ । त्यसैगरी प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि. को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक सुशिल कुमार झा विरुद्ध पनि मुद्दा दायर गरेकाे छ । भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उपकुलपति रौनियारले पटक पटक कमिसन बापत घुस लिएको उजुरीमाथि अनुसन्धान गर्दा पुष्टि भएको दावी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

गत १६ गते आयोगमा दर्ता भएको उजुरीको बिषयमा अनुसन्धान भइरहेको अवस्थामा रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप ८ लाख घुस माग गरेको भन्ने असार २५ गतेको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले रौनियारलाई घुस लिएकै अवस्थामा पक्राउ गरेको थियो । प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवासमा रकम राख्न पठाइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो ।

उनका भतिज रामहरीलाई समेत नियन्त्रणमा लिई आयोगबाट थप अनुसन्धान हुँदा सप्रमाण पुष्टि हुन आएकोले बिशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख र रामहरी विरुद्ध आठ लाख विगो कायम गरी आरोपपत्र दायर गरिएको छ ।

Loading...