मेस्सीमाथि कडा कारवाही, ३ महिने प्रतिबन्ध, ५० हजार यूएस डलर जरिवाना

काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् ।

गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले आयोजना गरेको कोपा अमेरिका फुटबल भ्रष्ट रहेको बताएका थिए । सोही टिप्पणीका कारण मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको हो ।

बार्सिलोनाका ३२ वर्षे कप्तान मेस्सीले कोपा अमेरिकाको तेस्रो स्थानका लागि चिलेसँगको भएको खेलको क्रममा रातो कार्ड पाएका थिए । सो खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । उनले सो खेलपछि कोपा अमेरिका आयोजकहरु भ्रष्ट रहेको र कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाएका थिए ।

मेस्सीले ५० हजार अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय पनि कोनमेबोलले गरेको छ । कोनमेबोलको निर्णय विरुद्ध मेस्सीले अपिल गर्न पाउने छन्, त्यसका लागि सात दिनको समय दिइएको छ ।

तीन महिने प्रतिबन्धविरुद्धको अपिल खारेज भएमा आउँदो सेप्टेम्बर र अक्टोबरमा हुने चिले, मेक्सिको र जर्मनीसँगको मैत्रीपूर्ण खेलमा मेस्सी अर्जेन्टिनाको टिममा हुने छैनन् । सन् २०२२ को कतार विश्वकपमा लागि अर्जेन्टिनाको छनौट खेल सन् २०२० को मार्चदेखि सुरु हुनेछ।

ब्राजिलमा भएको कोपा अमेरिका फुटबलको क्रममा अर्जेन्टिना सेमिफाइनलमा घरेलु टोलीसँग २–० ले पराजित भएको थियो । त्यसपछि अर्जेन्टिनाको फुटबल एसोसिएसनले सो खेलमा रेफ्रीले गम्भीर गल्ती गरेको गुनासो गरेको थियो । सो खेलमा आफूहरुले पाउनै पर्ने कम्तिमा दुई पेनाल्टी नपाएको अर्जेन्टिनाको भनाई थियो ।

त्यसको जवाफमा कोनमेबोलले कोपा अमेरिकामाथि लगाइएको आरोप आधारहिन रहेको र यसले सम्मानको अभाव देखाएको बताएको थियो ।

तेस्रो स्थानका लागि भएको चिलेसँगको खेलमा मेस्सीले ३७ औँ मिनेटमा रातो कार्ड पाएका थिए । चिलेका ग्यारी मेडेलले पनि रातो कार्ड पाएका थिए ।

मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड थियो । उनले १४ वर्षअघि सन् २००५ मा अर्जेन्टिनाबाट डेब्यु गरेको खेलमा रातो कार्ड पाएका थिए ।

रातो कार्ड पाएका मेस्सी तेस्रो स्थानका लागि भएको मेडल वितरणमा सहभागी भएका थिएनन् । मेस्सीले भनेका थिए, ‘हामी यो भ्रष्ट प्रक्रियाको अंश बन्नु आवश्यक छैन । उनीहरुले यो प्रतियोगिताभर हामीप्रति कुनै सम्मान दर्शाएनन् ।’

मेस्सीले उनले अघि थपेका थिए, ‘दुःखको कुरा, भ्रष्टाचार तथा रेफ्रीहरुले दर्शकलाई फुटबलको मजा लिन दिएनन्, उनीहरुले केही हदसम्म प्रतियोगितालाई नै नष्ट गरे ।’

ट्रफी आयोजक ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाउँदै उनले भनेका थिए, ‘मलाई लाग्छ उनीहरुले यसपटकको कप ब्राजिलका लागि फिक्स गरेका छन् । मलाई आश छ कि फाइनलमा भिएआर र रेफ्रीले केही गर्ने छैनन् र पेरुले प्रतिस्पर्धा गर्न पाउने छ । पेरु प्रतिस्पर्धा गर्न सक्ने टिम हो, तर त्यसको सम्भावना देख्दिन ।’

कोपा अमेरिकाको उपाधि पेरुलाई पराजित गर्दै ब्राजिलले जितेको थियो ।

Loading...