त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै डेभाजु क्लबका अध्यक्ष गिरफ्तार

काठमाडौं, १४ साउन । काठमाडौंको दरबारमार्गस्थित चर्चित नाइट क्लब डेभाजु लाउन्जका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो ।

केही महिनादेखि प्रहरीले उनलाई सर्वाधिक खोजि गरिरहेको बताइएको थियो । पुस महिनादेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेका श्रेष्ठविरुद्ध प्रहरीले गत पुस १० गते इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

श्रेष्ठले दरबारमार्गस्थित डेजाभु क्लबको मर्मतका लागि भन्दै विश्वराम श्रेष्ठसँग २ करोड रुपैयाँ ऋण लिएका थिए । तर, उनले ऋण नतिरी विश्वरामलाई आफू अध्यक्ष रहेको डेजाभु प्रालिका नाममा रहेको बैंकको खाताको चेक दिएका थिए ।

तर, बैंकले खातामा पैसा नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो । चेक बाउन्स भएपछि विश्वरामले गत पुस ९ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा मनोज श्रेष्ठविरुद्ध बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए ।

आइतबार पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरले हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Loading...