नवलपुरस्थित निर्माणाधिन सव-स्टेशनमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु

सर्लाही, १२ साउन । लालबन्दी–१, नवलपुरमा निर्माणाधिन सव-स्टेशनमा एक मजदुरको ज्यान गएको छ । नेपाल विद्युत् प्राधिकरणको सव-स्टेशनमा काम गर्ने एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो ।

ज्यान जानेमा स्थानीय २४ वर्षिय मेघबहादुर बम्जन रहेका छन् । सव-स्टेशनस्थलमा जमेको पानी फाल्न मोटर प्रयोग गर्न खोज्दा उनको करेन्ट लागेर ज्यान गएको स्थानीय प्रहरीबाट जानकारी प्राप्त भएको छ । केही दिन अघिदेखि ठेकदार मार्फत मजदुरको काम गर्दै आएका साबिक नेत्रगन्ज -९ पलार हाल लालबन्दी -१ का २४ बर्षिय बम्जनको आईतबार बिधुत सर्ट भै घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी गराए । चारैतिर पर्खाल लगाइएका कारण सव स्टेसन एरियामा पानी जमेको थियो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको र घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सर्लाहीमा दस दिन भित्र करेन्ट लागेर १ बालक सहित ३ जनाको ज्यान गएको छ ।
यस अघि हरिवन- ११ मा रहेको उत्सव इलेक्ट्रीक वर्कसपमा काम गर्ने एक मजदुरको ज्यान गएको थियो भने हप्ता दिन अघि मात्रै हरिवन- ६ घुर्कौलीमा पानी तान्ने समरसियल मोटरमा लाईन जोड्ने क्रममा १२ बर्षिय बालकको करेन्ट लागेर ज्यान गएको थियो ।

Loading...