चिकित्सकको लाइसेन्स परीक्षामा २२प्रतिशत अनुत्तीर्ण

काठमाडौँ, १२ साउन । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ ।

शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा ढुण्डिराज पौडेलले जानकारी दिए । काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन । पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ ।

यसैबीच नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा बाबुराम मरासिनीलाई दिइएको छ । निर्वाचन माघ महीनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन ।

सङ्घको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८आँै सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए । सङ्घमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन् ।

Loading...