तीन जलविद्युत आयोजना तहसनहस पार्ने दोर्दी खोलामा यसरी आएको थियो भयानक बाढी (भिडियो)

लमजुङ, ९ साउन । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो ४ बजेतिर अचानक आएको बाढीले बगाउँदा अहिलेसम्म चार जनाको शव भेटिएको छ ।

दोर्दी खोलामा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई खोलामा अचानक आएको बाढीले बगाएको थियो । साथै सुरुङमा काम गर्ने मजदुरहरु पनि सुरुङमै बाढी पस्दा वेपत्ता भएका थिए । बाढीले बगाएका २ जनाको शव दोर्दी गाउँपालिका–४, नौथर शेरामा भेटिएको थियो भने शेरा नजिकै एउटा र कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो।

मृत्यु हुनेमध्ये बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका अन्दाजी ३५ वर्षीय सइद अन्सारी र पर्सा जिल्ला पोखरिया नगरपालिकाका अन्दाजी बर्ष ३० शिवधुन चौधरी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी शेराभन्दा माथि भेटिएको शव सप्तरी जिल्ला सप्तकोशी नगरपालिका–८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरीको र कीर्तिपुर बेसीमा भेटिएका १ जना डडेल्धुराको आलिताल गाउँपालिका ६ घर भएका अन्दाजी ३५ वर्षीय रमेश बुढा रहेको बताइएको छ । मृतक चारै जनाको शव सदरमुकाम बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको हेडवर्क्समा डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको प्रहरीले बताएको छ। बगाएर ल्याएको शवलाई निर्माणस्थलबाट करिब ८ किलोमिटर तल नौथर शेरामा २ शव, ७ किलोमिटर तल शेरा नजिकै एउटा र ४ किलोमिटर तल कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो।

डीएसपी रबिन्द्रमान गुरुङका अनुसार बेपत्ता ६ जनाको खोजी भइरहेको छ। उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन्।

दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ। तर, यसको कारण भने अझै पनि पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

बाढी आएपछि धेरै मजदुरहरुले भागेर ज्यान जोगाएका थिए । तिनै मजदुरहरुले खिचेको भयानक बाढीको भिडियो यहाँ राखिएको छ ।

हेर्नुहोस यो बाढीको भिडियो

 

Loading...