मनै लोभ्याउने अनुपम प्राकृतिक सौन्दर्यले भरिएको डोल्पा (फोटो फिचर)

डोल्पा भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो । त्यतिमात्र होइन, प्राकृतिक रुपमा डोल्पा नेपालको सुन्दर जिल्ला पनि हो । सामान्य ज्ञानमा यो कुरा पढे पनि डोल्पा कस्तो छ भन्ने धेरैले पढ्न नसकेको हुनुपर्छ । कुनै पनि भूगोल र त्यहाँ रहेका जनताको जीवन पढ्न किताब हेरेर मात्र हुँदैन ।

नेपालको सबैभन्दा गहिरो ताल शे फोक्सुन्डो ताल र ठूलो जैविक र प्राकृतिक विविधताले भरिपूर्ण शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज रहेको डोल्पा भौगोलिक रुपमा नेपालकै ठूलो भए पनि कम आवादी भएको जिल्ला हो । चीनसँग सीमाना जोडिएको डोल्पा बहुचर्चित बहुमूल्य जडिबुटी यार्सागुम्वाले पनि चर्चित छ । डोल्पाको यार्सागुम्वा सबैभन्दा उच्च क्वालिटी भएको र बढी मुल्य पर्ने यार्सागुम्वा हो । जेठ महिनामा उपल्लो डोल्पाका पाटनहरुमा हजारौ मानिसहरु विभिन्न जिल्लाबाट यार्सा टिप्न पुग्ने गर्दछन ।

उपल्लो डोल्पाको भू बनोट डोल्पाको सुन्दरतालाई झल्काउने अर्को विशेषता हो । भेरी नदी किनारका वस्तीहरु र विभिन्न नदी, झरना, लेक पाटनहरुसँगै यहाँका थुप्रै थुप्रै प्राकृतिक सम्पदाहरु छन् । वाइल्ड लाइफ, वनस्पती, जंगल सम्पदादेखि यहाँको धार्मिक र सांस्कृतिक सम्पदाले डोल्पाको पर्यटनलाई निकै आकर्षण गर्दछन् ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले यो जिल्ला जति सुन्दर छ, त्यति यहाँको जनजीवन भने सुन्दर छैन । अहिलेसम्म पनि सडक सञ्जालले छुन नसकेको जिल्ला हो डोल्पा । पछिल्लो समय जाजरकोट डोल्पा सडक पूरा हुन लागे पनि अझै यातायात सूचारु हुन सकेका छैनन । डोल्पालाई जोड्ने एक मात्र हवाई यातायात हो । जुन यहाँका लागि निकै महंगो छ । जसका लागि डोल्पाकै जुफालमा एक मात्र एअरपोर्ट छ । त्यो पनि मौसमी प्रतिकूलताले निकै प्रभाव पार्ने गर्दछ । यसपटक ४ दिनदेखि जहाज नआउँदा जुफालमा थुप्रै मानिसहरु रोकिएका छन् । त्यसमध्ये गम्भीर विरामीहरु पनि त्यहाँ रोकिएका छन् । जुफाल पुगेपछि त्यहाँबाट जीप चढेर सदरमुकाम दुनैसम्म जान भने पाइन्छ । जिल्लालाई सडक सञ्जालले नजोडे पनि विगत केही वर्षदेखि हेलिकोप्टरमा लगेर त्यहाँ एअरपोर्ट रहेको जुफालदेखि सदरमुकाम जीप यातायात सूचारु गरिएको छ । त्यसैले डोल्पा सुन्दा जति सुन्दर छ, त्यति नै यहाँको सामाजिक र आर्थिक जीवन छ ।

यसपटक डोल्पाको यात्राका क्रममा बाटोमा खिचिएका केही तस्विर यहाँ प्रस्तुत छ ।

 

Loading...