निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीले पोखे अनौठो गुनासो

काठमाडौं, ७ साउन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि यसबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । सरकारले अपराधी पत्ता लगाएर पीडितलाई न्याय दिन सकेको छैन । सर्वत्र चर्चा पाएर निकै आवाज उठाइएको यो घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म असफल नै रहेपछि सरकारमाथि नै अनेकौ प्रश्न उब्जाइएका छन् । निर्मला हत्याको करिव एक वर्षपछि आएर सरकारका गृहमन्त्रीले भने अनौठो गुनासो पोखेका छन् ।

मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त घटना प्रकरणमा आफूलाई समेत अनावश्यक रुपमा जोडेको भन्दै निकै गुनासो पोखे । सञ्चारमाध्यमदेखि कतिपय राजनीतिक दलहरुले समेत यस प्रकरणमा ‘गृहमन्त्री नै जोडिएका छन्’ भनेर आलोचना गरेको उल्लेख गर्दै गृहमन्त्रीले अपराधीहरुलाई बचाउन खोज्योसम्म भन्नु दुःखद भएको बताए । उनले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै ठूलो असन्तुष्टि जनाए । उनले प्रश्न गरे, ‘के साँच्चै गृहमन्त्रीले अपराधी जोगाउन खोजेकै हो त ?’

गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसकिने पनि बताए । तर, यहाँ यस्ता घटना हुनै नसक्ने जस्तो गरी कुरा गरिएकोमा त्यसप्रति असहमति जनाउँदै यस्ता घटना अरु मुलुकमा पनि हुने दावी गरे । उनले यस्ता घटना पूर्ण रुपमा अन्त्य गर्नै नसकिने ठोकुवा गरे ।

मन्त्री थापाले भने, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’

पत्रकार सम्मेलनमा निकै गुनासो पोख्नेगरी प्रस्तुत भएका गृहमन्त्री थापाले आफ्नो पालामा मात्र नभई विगतका सरकारका पालामा यस्ता केही घटनाहरु भएको जिकिर गरे । उनले विगतका सरकारका पालामा पनि यस्ता घटना हुने गरेको भन्दै नेपालमा मात्र नभई विश्वभर यस्ता घटना नरोकिएको दावी गरे । उनले भने, ‘यस्तो अरु देशमा पनि हुन्छ । अमेरिकामा पनि हुन्छ ।’

यसअघि केही सञ्चारमाध्यमले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीका छोरालाई समेत जोड्ने गरेका थिए ।

Loading...