विराटनगर विमानस्थल पूर्ण रुपमा बन्द । केही दिन खुल्न गाह्राे

विराटनगर, ३१ साउन । अविरल वर्षाले गर्दा डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केही दिन लाग्ने भएको छ । बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नगरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुके पनि अन्य स्थानमा जमेको पानी अझै सुकिसकेको छैन । वर्षा थामिएको ४८ घन्टाभित्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने भनिए पनि उपकरणको अवस्था चेकजाँच गर्न र धावनमार्ग सफाइमा समय लाग्ने नागरिक उड्डयन प्राधिकरण विराटनरका सहायक प्रमुख सन्तोष ढकालले बताए ।

उनका अनुसार विमानस्थलको यात्रुकक्ष, रनवे र परिसरमा बाढी पसेकाले विद्युत् अवरुद्ध भएको छ । उपकरणको अवस्था चेकजाँच सोमबारबाट मात्रै थालिएको छ । सहायक प्रमुख ढकालले भने, ‘आइतबारसम्म त विमानस्थलमा कोही आउजाउ गर्न सक्ने अवस्था नै थिएन, सोमबारबाट बल्ल आउजाउ गर्न सकिने भएर क्षति विवरण संकलन गर्ने र बिग्रेका उपकरण चेकजाँच गर्ने काम थालिएको छ ।’ विराटनगर विमानस्थलबाट दैनिक तीन सय यात्रु आवतजावत गर्ने गरेका थिए ।

श्री एयरको जहाज विमानस्थलमै

नियमित उडान सुरु नगर्दै श्री एयरलाइन्सको जहाज बाढीका कारण विराटनगर विमानस्थलमै थन्किएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले विराटनगर विमानस्थल डुबानमा परेपछि परीक्षण उडानका लागि विराटनगर आएको श्री एयरको विमान धावनमार्गमा डुबानमा परेको थियो ।

सोमबारदेखि विराटनगर विमानस्थलको रनवेमा पानी सुके पनि विमानले उडान भर्ने अवस्था छैन । रनवेमा लागेको हिलो सफा भइनसकेको र विमानस्थलका उपकरणको अवस्था चेकजाँच भइनसकेकाले अझै उडान भर्ने अवस्था सिर्जना नहुँदा डुवानमा परेको श्रीको जहाज पनि विमानस्थलको रनवेमै थन्किएको हो । विमानस्थलको अवस्थामा पूर्ण सुधार आएपछि मात्र श्रीको विमानले उडान भर्ने सक्नेछ ।

एक साताअघि क्रु तालिमका लागि भन्दै विमान विराटनगर आएको श्री एयरका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए । श्रीले शनिबारदेखि विराटनगरसहित विभिन्न रुटमा नियमित उडान गर्ने जनाएको थियो ।

 

Loading...