प्रधानमन्त्रीको दावी विपरित मन्त्री यादवले भने, ‘मन्त्रीहरु घुस खुवाउन लागेका छन्, कर्मचारी काँतर छन्’

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारका पालामा भ्रष्टाचार नै नभएको भनेर दावी गर्छन । भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनेर निकै कडा कुरा गरेका प्रधानमन्त्री ओलीले त्यो दावी गरिरहँदा उनकै एक मन्त्रीले भने सरकारका मन्त्रीहरुमाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री मातृका यादवले मन्त्रीहरुले नै घुस खुवाउने गरेको दावी गरेका छन् । मन्त्री यादवले यस्तो कुरा पक्कै पनि चिप्लिएको अभिव्यक्ति होइन । उनले कही न कहि यो सूचना पाएर नै भनेका हुन । उनले भनेका छन् कि जब सरकारका मन्त्रीहरु नै घुस खाने र खुवाउनेमा सम्लग्न हुन्छन तब भ्रष्टाचार रोक्न नसकिने बताउँछन् ।

एक मिडियासँग कुरा गर्दै मन्त्री यादवले मन्त्रीहरु, माननीयहरु, नगरप्रमुखहरुले मात्र नभएर सबैले घुस खुवाइरहेको दावी गरेका छन् । कुराकानीका क्रममा मन्त्री यादवले मन्त्रीहरु त के कर्मचारीले प्रधानमन्त्रीलाई नै झुक्याइरहेको दावी पनि गरे । उनले भनेका छन, ‘प्रधानमन्त्रीले पटक–पटक बैठकमा भन्नुहुन्छ–के त्यसै अनुसार कर्मचारी तन्त्र चलेको छ त ? चलेकै छैन । उहाँको निर्देशन त मान्दैनन् भने हाम्रो हालत के हुन्छ होला ?’

मन्त्री यादवले अहिलेको अवस्थामा सचिवहरुले नै उल्टै मन्त्रीलाई चुनौती दिएको बताउँदै आफूले मन्त्रालयमा त्यस्तै भोगेको बताएका छन् ।

उनले भनेका छन्, ‘अरु मन्त्रालयमा के छ, थाहा भएन । मेरो मन्त्रालयमा कुन कर्मचारी कसरी आउँछ कसरी जान्छ, मलाई थाहा हँदैन । मैले चाहेको अवस्थामा कर्मचारी ल्याउन पनि सक्तिन् । को आउँछ कसरी आउँछ थाहा पाउँदिन । जसले ल्याउँछ उसैप्रति बफादार हुन्छ होला । त्यो म कहाँ पनि आउँदैन ।’

मन्त्री यादवले नेपालको कर्मचारी संयन्त्र काम नै नलाग्ने बताएका छन् । उनले कर्मचारीहरु निकै काँतर रहेको बताए । यस्तो कर्मचारी संयन्त्रबाट देशले केही पाउन नसक्ने ठोकुवा पनि उनले गरेका छन् ।

मन्त्री यादवले यो कुरा सोमबार प्रकाशित नयाँपत्रिका दैनिकको अन्तरवार्तामा गरेका छन् । मन्त्री यादवले गुनासो गरेका छन्, ‘मतललब, म त्यो कर्मचारी ल्याउने हटाउनेबाट जोडिनै पाउँदिन । मन्त्रीलाई नै टेर्दैनन्, मन्त्री केही जस्तो पनि होइन भन्ने ठान्छन् । मन्त्रीको कुरामा कर्मचारीमा विश्वास नै छैन । कर्मचारी राम्रो काम त गर्दैनन् । बढुवा हुने वेलामा झन मरी गए पनि काम गर्दैनन् । विवादमा परिन्छ भनेर मरी गए काम गर्दैनन् । कति काँतर छन् कर्मचारी, कर्मचारी पैसा खाने कुरामा नगर्ने काम पनि गर्छन् । यस्ता नोकरशाहबाट देशले के पाउने ? के त्यो काम मन्त्रीको हितमा हो ?’

Loading...