भक्तपुरमा एकाविहानै भेटियो पहिचान खुल्न नसकेकी महिलाको शव

भक्तपुर, ५ साउन । सूर्यविनायक नगरपालिका स्थित सृजनानगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सृजनानगर बस स्ट्याण्ड संगैको सडक पेटीमा घाँसले भरिएको झाडीभित्र उनी मृत अवस्थामा फेला परेकी हुन् ।

आइतवार विहान झाडीमा महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने कार्य गरिरहेको छ ।

मृतक महिलाको पहिचान भने खुल्न सकेको छैन । सारी चोलो लगाएकी अन्दाजी ४०- ४५ वर्षको लाग्ने मृतक महिलाको चोलो खुलेको अवस्थामा शव फेला परेको छ । उनको चप्पल भने आकेसे पूल संगैको सडकमा देखिएको एक स्थानीयले बताए ।

प्रहरीले महिलालाई गए राती हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । महिलाको टाउकोमा चोट देखिएको छ । पोस्ट मार्टम गरेपछि त्यसको रिपोर्टको आधारमा मात्र हत्या वा मृत्यु बारे यकिन थाहाँ हुने प्रहरीको भनाइ छ ।

Loading...