विप्लवका प्रभावशाली नेता माइला लामालाई वेपत्ता पारेको परिवारको दावी

काठमाडौं । गएराति काठमाडौंको काँडाघारीबाट समातिएका भनिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाइ वेपत्ता पारिएको परिवारका सदस्यले जनाएका छन् । मध्यराति ठूलो संख्यामा प्रहरीले काठमाडौंको काँडाघारीमा उनी बसेको घर घेरा हालेर उनलाइ पक्राउ गरिएको बताइएको छ । तर, अहिलेसम्म उनलाइ कहाँ राखिएको छ भन्ने बारे प्रहरीले कुनै जानकारी दिन नमानेको पारिवारिक स्रोतको दावी छ । 

यसअघि नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले गएराति १२स्२० बजेतिर उनलाई विशेष सूचनाका आधारमा गिरफ्तार गरिएको बताएका थिए । तर थापाले थप जानकारी दिन मानेनन् । प्रहरीको भित्री स्रोतले भने गएराति गिरफ्तार गरेर उनलाइ महानगरीय प्रहरी परिसर टेकु पुर्याइएको जनाएको छ । त्यहाँबाट भने उनलाइ कहाँ लगियो भन्ने केही थाहा छैन । परिवारका सदस्यहरु बिहान खबर सुन्ने बित्तिकै महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, त्यहाँ प्रहरीले त्यस्तो नाम गरेको व्यक्ति नरहेको बताएको उनीहरुको दावी छ । त्यसपछि उनीहरु प्रहरीको सीआइबीको कार्यालय महाराजगञ्ज पनि पुगेका थिए । त्यहाँ पनि उनका बारेमा कुनै जानकारी नरहेको बताइएको पारिवारिक स्रोतले जानकारी दियो । उनीहरुले लामालाइ वेपत्ता पार्न सक्ने भन्दै आवाज उठाइदिन मानवअधिकारकर्मी, सञ्चारमाध्यम र बुद्धिजीवी सबैमा अनुरोध गरेका छन् ।  

लामा गिरफ्तार परेको खबर परिवारका सदस्यले आज बिहान सञ्चारमाध्यमबाट मात्र थाहा पाएको जनाएका छन् । गिरफ्तारीको खबर आएपछि बुझ्न खोज्दा प्रहरीले जानकारी नदिएको उनीहरुको भनाइृ छ । माइला लामा काठमाडौंको सितापाइलाका स्थायी वासिन्दा हुन् । उनी काठमाडौं उपत्यकाकै नेतामध्ये उनी प्रभावशाली नेता थिए । लामा २०६४ सालको संविधान सभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेर झिनो मतअन्तरले पराजित भएका थिए । जनवादी गीतसंगीतमा ठूलो योगदान पुर्याएका लामा लामो समयदेखि सामना परिवारका चर्चित कलाकार पनि थिए । उनले थुप्रै गीतहरु लेख्नुका साथै स्वर र संगीत पनि गरेका छन् । उनका केही अडियो र भिडियो एल्वम समेत बजारमा आएका छन् । 

जनयुद्धकालमा घाइते भएका लामा राम्रोसँग कान नसुन्ने र राम्ररी आँखा पनि देख्न सक्दैनन । पछिल्लो समय नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज रहेका लामा नेकपामा निकै प्रभावशाली नेताका रुपमा मानिन्छन । प्रहरीले सुरुदेखि नै उनको व्यापक खोजि गरेको बताइन्थ्यो । गएको स्थानीय तहको निर्वाचन र प्रदेश तथा संघीय प्रतिनिधि सभाको निर्वाचनमा पनि उनलाइ प्रहरीले निकै पिछा गरेको थियो । 

गएराति लामासँगै नेकपा कार्यकर्ता रेशम तामाङ पनि गिरफ्तार परेको बताइएको छ । प्रहरीले लामाको साथबाट चारवटा मोबाइल र केही अन्य सामानहरु बरामद गरेको जनाएको छ । 

Loading...