विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा चर्चित कलाकार माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । काँडाघारीको एक घरमा रहेका लामालाई घर घेरा हालेर समातिएको बताइएको छ । उनको साथमा रमेश तामाङ नाम गरेका अर्का कार्यकर्ता पनि समातिएका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात दावी गरे ।

लामा चर्चित जनकलाकार पनि हुन । गीतकार तथा संगीतकार समेत रहेका लामा २०४८ सालदेखि नै सामना परिवारको महत्वपूर्ण नेतृत्वमा रहँदै आएका थिए । साथै उनी अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष पनि रहेका थिए । उनले थुप्रै गीतहरुमा संगीत र स्वर दिनुका साथै गीत लेखेका छन् ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा जनयुद्धकालमै गम्भीर घाइते भएका थिए । उनी अहिले पनि राम्रोसँग आँखा देख्न र कान सुन्न सक्दैनन । लामालाई लामो समयदेखि प्रहरीले विप्लव माओवादीका नेता मध्ये सर्वाधिक खोजिको सूचीमा राखेको थियो । उनी पछिल्लो समय उपत्यकामा हुने बम विष्फोटदेखि अन्य घटनामा सम्लग्न रहेको प्रहरीको दावी छ । तर, नेकपाका नेताहरुले भने यसलाई खण्डन गरेका छन ।

लामा २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए ।

सरकारले एकातिर विप्लवसँग वार्ता गर्ने बताए पनि गिरफ्तारी भने व्यापक रुपमा बढाइरहेको छ । सत्तारुढ दलका केही नेताहरु भने आफूहरुले वार्ताको वातावरण मिलाउँदै आएको बताउँदै आएका छन् । माइला लामाको गिरफ्तारीले सरकार वार्ताको हल्ला फिजाएर अझै दमन गर्न चाहेको छ भन्ने पुष्टि गरेको नेकपाका एक नेताले बताए ।

Loading...