कालिगण्डकी करीडोरले पाँच घर जोखिममा

बलेवा, ४ साउन । बागलुङ नगरपालिका–१३ पैयूँपाटास्थित कालीगण्डकी कोरिडोरको पाँच घर जोखिममा छन् ।

करिडोर विस्तारका क्रममा बस्ती मुनिको जमीन कटान भएपछि स्थानीय कुलराज लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने, कृष्णप्रसाद लामिछाने र दयाराम लामिछानेको घर पहिरोको जोखिममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ ।

नेपाली सेनाले जिम्मा लिएको सो कोरिडोर विस्तारका क्रममा जोखिममा परेका ती परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समितिले सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री जोखिममा रहेकालाई सुरक्षित ठाउँमा लैजाने बताउछन ।

ट्र्याक खोल्ने क्रममा ७.६५ मिटरको बागलुङ–नारायणस्थान खण्डको १० किलोमिटर सडकलाई अहिले नेपाली सेनाले १० मिटर चौडा बनाइरहेको छ । बागलुङ नगरपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्न खर्च उपलब्ध गराउने भएको छ । नगर प्रमुख जनकराज पौडेलले प्रतिपरिवार रु २५ हजार उपलब्ध गराइने बताए। पीडितहरु अहिले नजिकैको खाली घर र मन्दिरको सत्तलमा रात बिताउँदै आएका छन् ।

Loading...