डुबानका कारण बालबालिकाको भविष्य अन्योल

ललितपुर, ४ साउन । गत असार २१ बाट आएको अबिरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ ।

वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका छन् । त्यसैगरी कतिपय विद्यालय भत्किएका छन् भने केही डुबानमा परेकाले यहाँ अध्ययन गर्ने बालबालिकाको भविष्य अन्योल भएको हो ।

दक्षिण ललितपुरका तीन वाग्मती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाका सबै विद्यालय साउनको अन्तिमसम्म बन्द गरिएका छन् । महाँकाल गाउँपालिकाभित्रका कूल २८ विद्यालयमध्ये २७ सामुदायिक र एक निजी छ । यहाँका तीन सामुदायिक र एक निजी विद्यालयमा बाढी, पहिरो र अबिरल वर्षाले पूर्ण क्षति भएको महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए ।

दाहालले भने, “हाल भत्किएका विद्यालयमा वडा नं ३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, कालीदेवी आधारभूत विद्यालय र दक्षिण ललितपुरको एक मात्र संस्थागत विद्यालय हिलसाइड बोर्डिङ स्कूल रहेका छन् ।”

महाँकाल मावि गोटीखेलमा पहिरोले लाँदा त्यहाँ अध्ययनरत करीब ३५०, सेतीदेवी आधारभूतका २२, कालीदेवी आधारभूतका ३६ र हिलसाइडका २०० गरी कूल ६०८ बालबालिकाको पठनपाठन कति दिनसम्म ठप्प हुने हो अन्योलमा छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भने, “गोटीखेलको चनदेवी प्रावि सिसवन गोटीखेल र सरस्वती विद्याश्रम मावि चन्दनपुरमा आंशिक क्षति भएको छ । यी विद्यालय पुनःनिर्माण नभएसम्म विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराउन सहज छैन ।”

कोञ्ज्योसोम गाउँपालिकाभित्र १२ आधारभूत र छ माध्यमिक गरी कूल १८ विद्यालय रहेका छन् । सो क्षेत्रको ज्ञानज्योति आधारभूत विद्यालयमा बाढी पस्दा यहाँ अध्ययनरत ४५ विद्यार्थीलाई समस्या परेको सो गाउँपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर थोकरले जानकारी दिए ।

Loading...