सर्लाहीमा करेन्ट लाग्दा गयो मजदुरको ज्यान : खतरायुक्त काम गर्ने मजदुरको सुरक्षा चिन्ता

सर्लाही, ३ साउन । सर्लाहीको हरिवनमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । हरिवन – ११ स्थित उत्सव ग्रील उद्योगमा काम गर्ने मजदुरको ज्यान गएको हो ।

ज्यान जानेमा लालबन्दी- १० घर भएका ३६ बर्षिय मनोज भन्ने काजिमान बुढाथोकी रहेको प्रहरीले बताएको छ । ग्रील उद्योगमा शनिवार बिहान काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले पुष्टि गरेको हो ।

ग्रील उद्योगमा केही दिन अघि देखि वैल्डिङ्ग गर्ने काम गर्दै आएका बुढाथोकी आज विहान वैलडिङ्ग गर्ने क्रममा करेण्ट लागेर अचेत भएका थिए । उनलाई तत्काल हरिवनस्थित स्वाभिमान अस्पतालमा पुर्याईएको भएतापनि त्यस अघि नै उनको ज्यान गैसकेको बताइएको छ ।

अस्पतालमा पुर्याउदा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक बिनोद सुनवारले बताए । अहिले बुढाथोकीको शव पोष्ट्मार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।

३६ बर्षिय बुढाथोकीको ज्यान गएसंगै विद्युतसंग खेलिरहनु पर्ने मजदुरको सुरक्षाको विषय पेचिलो बनेको छ । खतरायुक्त काम गर्ने  मजदुरको सुरक्षाको प्रभावकारीता बारे जिल्लाभर प्रभावकारी व्यवस्था अपनाउनुपर्ने र विमा लगायतको जोखिम बहनको अनिवार्य व्यवस्था हुनुपर्ने कुरामा रोजगारदाता र प्रशासन गम्भीर बन्नुपर्ने देखिन्छ ।

 

Loading...