माधव, झलनाथ र बामदेवको जिम्मेवारी टुङ्गो, बामदेवले कसरी पाए संगठन विभाग?

काठमाडौं, ४ साउन । लामो समयको छलफलपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको जिम्मेवारी तोकिएको छ ।

सो पार्टीको प्रमुख नेताहरुको बैठक बसेर नेताहरुको जिम्मेवारी टुङ्गो लगाइएको हो । नयाँ जिम्मेवारी अनुसार नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यसैगरी अर्का नेता झलनाथ खनालले नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । त्यसैगरी नेता बामदेव गौतमले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टीको संगठन विभाग महत्वपूर्ण मानिन्छ । त्यो जिम्मेवारी बामदेवले पाएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी भित्रको शक्ति सन्तुलनलाई हेरेर यो जिम्मेवारी तोकिएको बताइन्छ ।

बिहीबार र शुक्रबार बिहान बसेको नेकपा बैठकले ३ नेताको जिम्मेवारी टुंग्याएको हो । नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ । अहिले पार्टीले जिम्मेवारी प्रदानका विषयमा गम्भीर भएर छलफल गरिरहेको र सबै काम टुंग्याएपछि साउन ५ गते बस्ने सचिवालय बैठकले निर्णय अनुमोदन गर्ने बताइएको छ ।

नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ । परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। मञ्च र परिषदमा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन् ।

नेकपाका तीन आयोगमा पनि नेतृत्व टुंगो लागेको छ । लेखापरीक्षण आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई नेतृत्व दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ । त्यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगमा अमिक शेरचन छानिएका छन् ।

Loading...