व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दो

पाल्पा, ४ साउन । तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताको नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् ।

प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन् । शहरी क्षेत्रमा बढ्दो आवास निर्माणले हरियाली हराउँदै गएको छ । मानिस हरियाली गुमेपछि घरको आसपासका क्षेत्रमा रङ्गी विरङ्गी फूल रोपेर सुन्दर बनाउन चाहने कारणले फूलको नर्सरी सबैको आकर्षणको केन्द्रका रुपमा बदलिएको हो ।

फूलखेतीबाट रु १२ लाखसम्म आम्दानी

फुलिरहेको फूल घर वरपर तथा घरभित्र गमलामा फूल रोपेर हरियाली बनाउनेको सङ्ख्या बढ्दो छ । गुप्ताले पाल्पामा उत्पादित फूलखेतीबाट वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी गर्ने बताए । व्यावसायिक फूलखेतीका लागि पाल्पाको हावापानी राम्रो रहेकाले आफूले यहाँ खेति गरेको उनको भनाइ छ ।

विसं २०७० मा रु २० लाख लगानीमा १३ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती शुरु गरेको उनले सुनाए । नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोलीसमेत नर्सरीमा टहलिने काम हुन्छ । नर्सरीमा उत्पादित फूल जेरिनियम, पिटोनिया, पेन्जी, सयपत्री, गोदावरी, कुविजा, भर्विना, देनथस, डालिया, लालुपाते, लिलियम, गेजनिया, हंशराज, काउली फूल, सालवियालगायतका दुई दर्जन बढी थरिका फूल उत्पादन गरिन्छ ।

१४ जनालाई रोजगारी

यस नर्सरीमा चार जनाले स्थायीरुपमा मासिक पारिश्रमिक पाउँछन् । १० जनाले दैनिक ज्यालादारी रुपमा रोजगारी पाएका गुप्ताको भनाइ छ । फुर्सदको समयमा सुतेर बस्ने महिलाले दिनभर काम पाएपछि घरखर्च जुटाउन समस्या हटेकोे छ । दिनभर काम गरेपछि पैसा सजिलै पाउने भएपछि महिला खुशीका साथ फूलखेतीमा झुमिएका हुन् ।

फूल खेतीबाट प्रशस्त आम्दानी गर्न थालेपछि पैसा कमाउन विदेश पलायन हुनुपर्छ भन्ने मान्यतालाई विस्थापित बनाएको छ । जग्गा भाडामा पाल्पा नर्सरी नामक संस्थाले यस क्षेत्रका फूलखेती गर्नेका लागि बिरुवा उत्पादन गर्ने स्थलमा अध्ययन भम्रणले चहलपहल बढ्दो छ । पाल्पाको हावा पानी राम्रो भएकाले फूल उत्पादन राम्रो हुँदै गएको छ ।

Loading...