सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा तराई डुबाएको सांसद सुवालको आरोप

भक्तपुर, ४ साउन । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा पणीरत हुँदा भारतीय बाँधले तराई डुबाएको उनको आरोप छ ।

शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै सांसद सुवालले भारतीय विस्तारबादको विरुद्ध युवाहरु उठ्नुपर्ने आवस्यकतासमेत औल्याए । उक्त अवसरमा उनले संसदमा विचाराधीन परमाणु र रेडियोधर्मी विधेयकको सत्यतथ्यबारे थाँहा हुनुपर्ने समेत बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै सांसद सुवालले फोटोग्राफी तालिमप्राप्त प्रशिक्षार्थीले समाजको इतिहास निर्माणको निम्ति काम गर्नुपर्नेमा जोड दिंदै फोटोग्राफीले कुनै समाज वा ठाउँको इतिहास र सभ्यतालाई जीवन्त बनाउन सहयोगी भूमिका खेल्ने बताए ।

दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा सो भवन निर्माणमा ढिलाइ भइरहेको भन्दै सांसद सुवालले फोटाग्राफीमा आबद्ध प्रशिक्षार्थीहरुलाई ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा र सार्वजनिक तथा पर्तीजग्गाहरुको अभिलेखीकरण गरि इतिहास जोगाइराख्ने अभिभारा बोक्नुपर्ने समेत बताए ।

उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको भविष्य युवाहरुको हातमा भएको भन्दै व्यक्तिगत पेशा संगै राष्ट्रिय हितको लागि समेत काम गर्न अभिप्रेरित गरे । फोटोग्राफीलाई इतिहास र समाजको ऐनाको रुपमा ब्याख्या गर्दै प्रमुख प्रजापतिले फोटोग्राफरको योगदान अमूल्य हुने हुनाले मन खोलेर फोटोग्राफीमा लाग्न आह्वानसमेत गरे ।

फरक प्रसंगमा प्रमुख प्रजापतिले कृषिप्रधान देशले करोडौं रुपैयाँको खाद्यान्न आयात गरिरहेकोमा दुख व्यक्त गर्दै सरकारको अदुरदर्शी नीतिले युवा बेरोजगार बनेका र देश पछाडि परेको आरोप लगाए ।

कार्यक्रममा उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व,फोटोग्राफी तालिमका प्रमुख प्रशिक्षक शरद राइ र प्रशिक्षार्थीको तर्फबाट प्रवीणा सुजखुले पनि आफ्नो धारणा राकेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद प्रेम सुवालले फोटोग्राफी तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Loading...