लोकसेवाको परीक्षा केन्द्रदेखि परीक्षार्थी बास बस्ने ठाउँसम्म प्रहरीको कडा सुरक्षा

दाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षालाई लक्षित गरेर दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङको तुलसिपुरमा परीक्षा केन्द्र तोकिएपछि तुलसिपुरसहित जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

परीक्षा लाई थप व्यवस्थित र मर्यादित बनाउन जिल्लाको सबै सुरक्षा स‌यन्त्रलाई परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार परीक्षा केन्द्रबाट बास बस्ने स्थानसम्मको सुरक्षा व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ । परीक्षामा अबरोध सृजना गर्ने जोकोहीलाई पनि तत्काल नियन्त्रणमा लिन र कानून अनुसार कारवाही गर्न पनि निर्देशन दिइएको छ ।

लोकसेवा आयोगको परीक्षामा अनलाइन फाराम भरेका करिब बीस हजार परिक्षार्थी परीक्षामा सहभागी हुन आएका छन् । उनीहरु तुलसिपुरमा होटल अभाव भए पछि घोराही, लमही, भालुवाङसम्म कोठा भाडामा लिएर बस्न बाध्य भएका छन् ।

शनिबार बिहान र दिउँसो गरी पन्ध्र हजार परिक्षार्थी परीक्षामा सहभागी हुन लागेको लोकसेवा आयोग कार्यालय तुलसिपुरका प्रमुख दुर्गाप्रसाद पराजुलीले जानकारी दिए ।

Loading...