सनसनीपूर्ण खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरियाले उचाल्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं, ४ साउन । कायरोमा शुक्रबार राति भएको सनसनीपूर्ण खेलमा अल्जेरियाले सेनेगललाई पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

कायरोमा भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलको अन्तर पराजित गर्यो । अफ्रिकन च्याम्पियन बनेपछि अल्जेरियामा ठूलो खुसीयाली मनाइएको छ ।

सेनेगलका एक खेलाडीको सानो गल्तीका कारण अल्जेरियाले खेलको सुरुमै गोल गर्यो । अल्जेरियाका लागि बग्दाद बोएनेजाले खेलको दोस्रो मिनेटमै गोलको खाता खोलेपछि खेल अवधिभर बाँकी कसैले गर्न सकेनन । सेनेगलका सालिफ सानेको गल्तीलाई भरपुर उपयोग गर्न सफल बग्दादको त्यही गोलले नै अन्ततः अल्जेरियालाई च्याम्पियन बनायो ।

खेलको दोस्रो हाफमा सेनेगलले पेनाल्टी पाएको थियो । यद्यपि, भीएआर रिभ्यूमा हातले बलमा छोएको पुष्टि नभएपछि त्यो फिर्ता भयो । जसले सेनेगलको आश निराशामा बदलिन पुगेको थियो ।

खेल अवधिमा सेनेगलले गोल गर्ने केही मौका नबनाएको होइन । तर, त्यसलाई उसले उपयोग गर्न नसक्दा अफ्रिका कप अफ नेसन्सको उपाधि हत्याउने सेनेगलको दाउमा फेरि पनि तुषारापात लागेको छ । लयमा हुँदा–हुँदै पनि सेनेगलले अहिलेसम्म यसको उपाधि जित्न सकेको छैन । खेलमा हार व्यहोरेपछि सेनेगलका खेलाडी मैदानमै रोएका थिए । जसले त्यहाँको वातावरणलाई भावुक बनाएको थियो ।

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हत्याएको यो दोस्रोपटक हो । यसअघि सन् १९९० पनि उसले उपाधि जितेको थियो ।

Loading...