त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या

काठमाडौं, ३ साउन । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेकाे अाराेप लागेका त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले अात्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिविका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका हुन्।

उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन्।

सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेका हुन्। महानगरी प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक तनावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि तनावमै रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

उनले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए।पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए।

उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Loading...