वर्षौ बितिसक्दा समेत बनेन सातनाली पक्की पुल

“पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु, काटेको सडक गाडी नचल्दा दिनहुँ बिग्रिँन र भत्किन थालेको छ ।”

डोटी, ३ साउन । निर्माण कार्य शुरु गरेको वर्षांै बितिसक्दासमेत डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बाण्डुङ्ग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो । तर पुलको निर्माण कार्य १० प्रतिशत पनि नभएको स्थानीयको आरोप छ । यसअघि पनि सुस्त गतिमा भएको निर्माण कार्य लामो समयदेखि पूर्णरुपमा रोकिएको छ । रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर थप एक वर्ष तीन महीना बितिसक्दासमेत पुलका दायाँबायाँ पिल्लरसमेत बनेका छैनन् । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक अलपत्र परेको छ । पुल नभएका कारण उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीय रामबहादुर धाँमीले बताए।

उनले भने, “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु, काटेको सडक गाडी नचल्दा दिनहुँ बिग्रिँन र भत्किन थालेको छ ।” पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीसँग बुझ्दा उनले पुलको फाउण्डेसनमा समस्या भएको जानकारी दिए।

पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ने कुरामा स्थानीयवासी विश्वस्त हुन सकेका छैनन् । पहिलो पटकको सम्झौता ठेक्का अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । पुनः म्याद थपिए पनि काम शुरु भएको छैन । यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख भएका छन । उनलाई कुनै कारवाही नहुँदा यहाँका काम लथालिङ्ग अवस्थामा पुगेको स्थानीयको आरोप छ ।

Loading...