आज खण्डग्रास चन्द्रग्रहण, यि राशीकालाई हुनेछ फलिफाप


काठमाडौँ । आज राति १ बजेर ४६ मिनेट देखि भोलि बिहान ४ बजेर ४५ मिनेट सम्म चन्द्र ग्रहण लाग्दैछ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको हो ।

ग्रहणले राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार बुधबार बिहान ३ बजेर १५ मिनेटमा ग्रहणको मध्यकाल हुने र ४ बजे ४५ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशीले ग्रहण हेर्न नहुने विश्वास छ । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्री’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुंगुुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद गौतमले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध रहेको उनले बताए ।

मङ्गलबार राति १ः४६ बजे सुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् ।

ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिनेछ । क्यानडा तथा उत्तर अमेरिकामा बसोबास गर्ने मानिसले ग्रहण अवलोकन गर्न पाउने छैनन् । एकाइसौँ शताब्दीमा पर्ने ८५ चन्द्र ग्रहणमध्ये यो एक रहेको जनाइएको छ ।

Loading...