मोर्चाबन्दी बढेपछि सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच यस्तो सहमति

काठमाडौं, ३१ असार । पार्टी अध्यक्षद्वयको मनोमानी चल्न थालेको भन्दै अरु नेताहरुले मोर्चाबन्दी गर्ने खतरा बढेपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टीमा कार्यविभाजनबारे सहमति जुटेको छ ।

पार्टी एकता भएको वर्षौ बित्दा पनि सांगठनिक कार्यविभाजन र विभागहरु गठन नभएपछि सत्तारुढ दल नेकपामा व्यापक असन्तुष्टि बढेको थियो । पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध नै अरु नेताहरुले अभियान चलाउन थालेका थिए । लामो समय नेकपालाई विचार, राजनीति र योजनाविहीन बनाएको भन्दै उनीहरुको आलोचना हुने गरेको थियो ।

यसैबीचमा आज अध्यक्षद्वयबीच पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटेको स्रोतले जनाएको छ । मंगलवार केपी ओली र प्रचण्डले लामो छलफल गरी उक्त सहमति जुटाएका हुन् । स्रोतका अनुसार उक्त छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए ।

यो सहमतिसँगै नेकपाको एकता प्रक्रिया टुङ्गो लागेको छ । पार्टी एकता भए पनि नेताहरुको जिम्मेवारी बाँडफाँड नभएपछि एकताप्रक्रिया टुङ्गो लाग्न नसकेको झल्को आउने गरेको बताउने गरिएको थियो । अब भने एकता प्रक्रियाका कुनै पनि काम बाँकी नरहेको नेताहरुले बताएका छन् ।

नेकपाका शिर्ष नेताहरुबीच भएको यो सहमतिलाई अब छिट्टै स्थायी समितिको बैठक बसेर अनुमोदन गर्ने बताइएको छ । स्थायी समितिमा नेताहरुको सहमति अनुमोदन हुने वा नहुने भन्ने एकिन भने छैन ।

Loading...