एकातिर वार्ताको हल्ला अर्कोतिर धमाधम कार्यकर्ता पक्राउ

काठमाडौं, ३१ असार । सरकारले वार्ताकाे हल्ला गरिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार उनीहरुलाइ पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा उक्त नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक रहेका छन् ।

जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द उनीहरुलाइृ प्रहरीले फेरि पक्राउ गरेकाे हाे । राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ ।

गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङचोकबाट पक्राउ गरी तनहुँ ल्याएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो । अदालतको आदेशमा रिहा भएका उनीहरु तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण पोखराबाट पक्राउ परेका थिए । त्यसअघि गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सरकारले एकातिर वार्ताकाे हल्ला चलाएर अर्काेतिर धमाधम नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी राखेकाे छ ।

Loading...