भानु जयन्तीको अवसरमा रोचक घिमिरे लगायत विभिन्न स्रष्टा पुरस्कृत

काठमाडौं, २९ असार । आदीकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्री के.पी.शर्मा ओलीले विभिन्न विधाका स्रस्टाहरूलाई पुरस्कृत गरेका छन् ।राजधानीमा आइतवार एक विशेष समारोहबीच उनले पुरस्कार प्रदान गरेका हुन् ।

उक्त अवसरमा २०७५ सालको “महाकवि देवकोटा पुरस्कार” भाषा साहित्य विधामा रोचक घिमिरे, कविता विधामा विश्व विमोहन श्रेष्ठ, निबन्ध समालोचना विधामा डा.देवी प्रसाद सुवेदी, आख्यान नाटक विधामा नयनराज पाण्डे र बाल साहित्य विधामा डा. जीवेन्द्र देव गिरीले प्राप्त गरेका छन् ।

त्यस्तै “गोपाल प्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार” भीष्म उप्रेती, “गोपाल प्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार” प्रा.डा. केशव प्रसाद उपाध्यायले प्राप्त गरे ।

कार्यक्रममा “भगत सर्वजित मानव मर्यादा पुरस्कार” बाट रणेन्द्र बराइली, भद्रमान घले, रमेश रञ्जन झा पुरस्कृत हुनुभएको थियो । प्रधानमन्त्री ओलीले कार्यक्रममा अन्य विभिन्न स्रष्टाहरूलाई पनि राष्ट्रिय र प्रादेशिक पुरस्कार प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले बाढीपहिरोका कारण यो वर्ष धेरैले ज्यान गुमाएको कारण अरु वर्ष जस्तो असार २९ मा प्रसन्न मन हुन नसकेको बताए । उनले ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः….’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकाङ्क्षा बन्न पुगेको बताउँदै सबैले त्यसको लागि योगदान गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यविधिअनुसार छनोट भएका ४२ स्रष्टालाई सम्मान गरिएको जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक वर्ष विभिन्न विधाका नेपालभरका विभिन्न स्रस्टाहरूलाई यी पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।

Loading...