रौतहट डुवाउने भारतीय बाँध बाढीले आफै भत्कायो, नेपाली भूभागमा पानी घट्दै भारतीय वस्तीहरुमा आतङ्क सुरु

रौतहट, २८ असार । भारतको बैरगनीया र गौर जोड्ने सीमामा रहेको बाँध बाढीले आफै भत्काएको छ । बाढीले बाँध भत्काएपछि अहिले सदरमुकाम गौरसहित जिल्लाका अन्य ठाउँमा जमेको पानीको सतह घटन थालेको छ ।

सदरमुकाम गाैरदेखि तीन किलोमीटर पूर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक भारतले एकतर्फी बनाएको बाँध पानीको बेगले आफै भत्किएकाे हाे । उक्त क्षेत्रमा हिजाेदेखि नै भारतले ठूलाे सङ्ख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसवी) तैनाथ गरेकाे छ । बाँध अाफै फुटेपछि त्यहाँ तैनाथ गरिएका भारतीय एसएसबीहरूले फुटेकाे बाँध मर्मत गर्न प्रयास गरिरहेका छन् । उनीहरुले केमिकलकाे प्रयाेग गरेर मर्मत गर्न खाेजेकाे बताइएकाे छ । 

यसअघि नेपालको रौतहट जिल्ला पूरै डुवानमा पर्ने गरी भारतले बनाएको बाँध भत्काउन सामाजिक सञ्जालमा ठूलो आक्रोश पोखिएको थियो । भारतले उक्त बाँधमा पानीको निकासका लागि बनाइएको कुनै पनि ढोका नखोलेपछि सदरमुकाम गौरमा १० फुटभन्दा बढी पानी भरिएको थियो । पानीले सदरमुकामका सबै सरकारी कार्यालयहरु समेत डुवानमा परेका थिए ।

रौतहट सदरमुकाम गौरको दुईतिरबाट बग्ने लालबकैया र बाग्मती नदीको पानी बाँधका ढोका नखोल्दा जम्मा भएर गौरसहित त्यस आसपासको ठूलो क्षेत्र डुबानमा परेको थियो । स्थानीयहरु समुदायिक पक्की भवन र छिमेकीका पक्की घरमा शरण लिन पुगेका छन्।  भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेकोे हो। गौर सदरमुकाममा करिव एक तला डुब्ने गरी बाढी पसेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय पक्षलाई बाँध खोल्नका लागि धेरै अनुरोध गरेको तर कुनै सुनुवाई नभएको बताएका थिए । प्रजिअ थापाले सदरमुकामको अवस्था अझै गम्भीर रहेको बताएका छन् । भारतीय सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास पाउन नसकेको उनको भनाइ छ ।

बाढीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको प्रहरीले जनाएको छ। खबरअनुसार भारतीय बाँध फुटेपछि अहिले गौर र यसआसपासका क्षेत्रमा पानीको सतह घटन थालेको छ।

अहिले गौरमा पानीको सतह घटेसँगै भारतीय बस्तीमा बढी बाढीले आतंक मच्चाएको छ। भारतका अशोगी, सिन्धुलिया, बैरगनिया लगायतका क्षेत्रमा अहिले बढी पसेको छ।

Loading...