भारतीय बाँधका कारण रौतहट पूरै डुबानमा, प्रहरी आफै उद्धारको पर्खाइमा

रौतहट, २८ असार । भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् ।

भारतीय पक्षले बाँधका पानी थुन्ने ढोका खोल्नुको सट्टा अझै बाँधको सुरक्षामा लागेपछि भारतप्रति सामाजिक सञ्जालमा ठूलो आक्रोश पोखिएको छ । साथै अहिले गो ब्याक इन्डियाको ह्यासट्याग प्रयोग गरेर विरोध गरिएको छ । सामाजिक सञ्जालमा यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रोटी र बेटीको सम्बन्ध भन्ने गरेको कुरालाई व्यापक आलोचना गरिएको छ ।

भारतले बैरगनीया र गौर जोडने सीमाको दशगजा क्षेत्रमा बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय पक्षलाई पानीको निकासका लागि बाँधका ढोका खोलिदिन पटक पटक आग्रह गरे पनि खोल्न नमानेको बताएका छन् । यसबारे नेपाल सरकारको केन्द्रमा पनि जानकारी गराएको उनले बताए । सरकारको तहबाट नै पहल नभएसम्म उनीहरुले सुन्ने अवस्था नरहेको उनको भनाई छ ।

उसो त उक्त बाँधमा पानीको तह पूरै उच्च विन्दुमा छ । पानी अझै अढाइफुटमाथि आएमा बाँध फुट्न सक्ने र त्यसो भएमा भारतीय वस्तीहरु समेत जोखिममा पर्ने खतरा रहेको छ । त्यसका लागि पनि भारतले बाँधका ढोकाहरु खोल्नुपर्ने देखिन्छ । तर पनि भारतीय पक्षले भने केही गरेको छैन ।

अहिले भारतले बाँधको ढोका खोल्नुको सट्टा त्यस क्षेत्रमा ठूलो संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढेपछि यसले ठूलो विनास निम्त्याएको हो । बाढीका कारण रौतहटका विभिन्न वस्तीहरुसँगै सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेका छन् । जसका कारण उद्धारकर्मी परिचालनमा झनै कठिनाइ भएको बताइएको छ । बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुटेका छन् । जसका कारण सयौं परिवार विस्थापित भएका छन् । त्यस्तै जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।

त्यसैगरी रौतहटका झाँझ र चादी नदीको बहाव पनि अत्याधिक बढेको छ । ती नदीले सदरमुकाम गौरसँग रौतहटका गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबानमा पारेको छ ।

रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको कार्यालय पनि डुबानमा परेको छ । साथै प्रहरीका अन्य कार्यालय र यूनिटमा समेत बाढी पसेको छ ।

 

याे पनि पढ्नुहाेस्

सप्तकोसीको पानीले खतराको तह पार ग¥यो, आसपासका वासिन्दालाई सचेत रहन चेतावनी

बाढी पहिरोबाट बच्ने ८ उपाय

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

Loading...