चीनमा ५० वर्ष यताकै ठूलो वर्षा, २ करोड मानिस प्रभावित

एजेन्सी । नेपालमा अविरल वर्षापछि अाएकाे बाढी र पहिराेले वितण्डा मच्चाइरहँदा चीनमा पनि बाढीले ठूलाे असर गरेकाे छ । चीनमा ५० वर्षयताकै भारी वर्षा भएकाे र वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको बताइएकाे छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब २ करोड प्रभावित भएका छन् ।

चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार बाढीका कारण १ करोड ९९ लाख प्रभावित भएका छन् । बाढीका कारण १३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ५ लाख ८२ हजार मानिसहरुलाई आकस्मिक सहायताको खाँचो रहेको जनाइएको छ ।

बाढीका कारण भौतिक पूर्वाधारमा क्षति पुगेको तथा ३४ हजार घरहरु भत्केको मन्त्रालयले जनाएको छ । बाढीका कारण १७ लाख हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको छ । बाढीका कारण ७ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक क्षति पुगेको मन्त्रालयलाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

Loading...