ल्यान्ड गर्दा चिप्लिएकाे यति हटाउन ८ घन्टा, बल्ल सुचारू भयाे काठमाडौं एअरपोर्ट

काठमाडौं, २७ असार । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ घण्टापछि विमानस्थल सुचारु भएको हाे ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध हुँदा काठमाडौं आउने जहाजलाई भारतका वनारस, कोलकाता, लखनऊ र दिल्लीमा अवतरण गराइएको थियो ।

त्यस्तै थाइल्याण्डको बैंकक र चीनको ल्हासामा पनि जहाज अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Loading...