जापानमा जाने कामदारको असोजमा भाषा र सीप परीक्षा हुँदै

काठमाडौं । जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ ।

मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ । ‘जापान रोजगारीका लागि पहिलो चरणमा केयर गिभर नर्सिङ केयर मा कामदार लैजानेछ’, उनले भने । सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ ।

कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् । नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो ।

कामदार जापान लैजाने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगार विभागमा जापान रोजगार युनिट स्थापना गर्ने तयारी अन्तिमचरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईँले परीक्षा सञ्चालनका लागि गृहकार्य सुरु भएको बताए । जापान युनिटका लागि सम्पर्क व्यक्तिका रूपमा गुरागाई तोकिएका छन् । कुनै विषय आएमा विभागबाट गर्नुपर्ने काम उनकै नेतृत्वमा हुनेछ । जापानले नेपालसहित ९ देशबाट आगामी ५ वर्षभित्र नौ मुलुकबाट ३ लाखभन्दा बढी कामदार लैजान लागेको छ । जापानले ती देशसँग श्रम समझदारी गर्दै आएको छ ।

जापानले पहिलो चरणमा फिलिपिन्स, नेपाल र भियतनामबाट कामदार लैजान लागेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ । यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम् हवाई उद्योगमा अवसर पाउनेछन् ।

जापानले नेपालगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै वर्किङमा सिफ्ट गरेर अवसर दिने तयारी गरेको छ । जापानमा नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा तुलनात्मक रूपमा बढी अवसर पाइनेछ । जापान जानका लागि एन फोर तहको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । वृद्ववृद्वासँग प्रत्यक्ष संवादमा रहनुपर्ने भएकाले व्यवहारिकरूपमा एन थ्री तहको भाषा चाहिन सक्ने जापानी अधिकारीले बताउँदै आएका छन् । भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले जापानी नागरिकसरह सेवासुविधा पाउनेछन् । जापानमा मासिक २ लाखभन्दा बढी पारिश्रमिक पाउँछन् ।

सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभवी श्रमिक बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउनेछन् । तर, दोस्रो वर्गका श्रमिकका लागि उच्च तहको सीप आवश्यक पर्छ । त्यस्ता श्रमिकको कार्यविधि थप हुनुका साथै परिवारका सदस्यलाई समेत जापान लैजान पाउनेछन् । जापानले विदेशी श्रमिकलाई अभिमुखीकरण, भाषा, स्वास्थ्य सेवा र काम परिवर्तन गर्न पाउने सुविधा दिएको छ भनेर यो समाचार अन्नपूर्णमा प्रकाशित भएको छ ।

Loading...